मोन्टेभियो - विश्वकप फुटबल २०१८ अन्तर्गत दक्षिण अमेरिका छनोटमा अर्जेन्टिना र उरुग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। बराबरीसँगै अर्जेन्टिनाका लागि विश्वकप छनोट यात्रा कठिन बन्दै गएको छ। १५ खेलबाट २३ अंक जोडेको अर्जेन्टिना अंक तालिकाको पाँचौ स्थानमा छ।
विश्वकप सिधै छनोट हुन शीर्ष ४ मा पर्नुपर्ने हुन्छ। पाँचौ स्थानको टोलीको पनि प्लेअफ मार्फत विश्वकप छनोटमा स्थान बनाउने सम्भावना हुन्छ। २१ अंक जोडेर छैटौं स्थानमा रहेको पेरु, २१ अंक नै जोडेको सातौं स्थानको पाराग्वे र २० अंक जोडेर आठौं स्थानमा रहेको इक्वेडरको पनि छनोट हुने सम्भावना छ। त्यसैले अर्जेन्टिनाले विश्वकपमा छनोट हुन अब भेनेजुएला र पेरुविरुद्धको होम म्याच र इक्वेडरविरुद्धको अवे म्याचमा उत्कृष्ट खेल्नुपर्ने हुन्छ।
दक्षिण अमेरिका छनोटअन्तर्गत अर्को खेलमा ब्राजिलले इक्वेडरलाई २–० ले पराजित गरेको छ। ब्राजिलको जितमा पाउलिन्होले ६९औं मिनेटमा तथा फिलिप काउटिन्होले ७६औँ मिनेटमा गोल गरे। १५ खेलबाट ३६ अंक जोडेको ब्राजिल यसअघि नै विश्वकपमा छनोट भइसकेको छ।
छनोटअन्तर्गत अन्य खेलमा पेरुले बोलिभियालाई २–१, पाराग्वेले चिलीलाई ३–० ले पराजित गरेका छन् भने भेनेजुएलाले गोलरहित बराबरी खेलेका छन्। छनोटमा ब्राजिल शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको कोलम्बियाको २५, तेस्रो स्थानको उरुग्वेको २४ र चौथो स्थानको चिलीको २३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।