काठमाडौं– चालु आर्थिक वर्ष (०७६ साउन १) गतेदेखि लागू हुने गरी वृद्धि हुने भनिएको राशनभत्ता नेपाल प्रहरीका कर्मचारीले अझै पाउन सकेका छैनन्।
राशनभत्ता पुनरावलोकन समितिको सिफारिसमा ५ वर्षपछि सरकारले नेपाल प्रहरीको राशनभत्ता बढाएको थियो। बढेको राशनभत्ताका लागि भन्दै ४ अर्ब ६४ करोड ९४ लाख रुपैयाँ बजेट सरकारले विनियोजन समेत गरिसकेको छ। तर प्रहरी कर्मचारीले अहिले पनि पुरानै रेटअनुसार काठमाडौं उपत्यकामा दैनिक १ सय ७५ रुपैयाँका दरले राशनभत्ता बुझेका छन्।
नेपाल प्रहरीको बजेट शाखाका प्रमुख एसएसपी दीपक थापाले बजेट विनियोजन भए पनि क्याबिनेटले निर्णय नगरेकाले समस्या आएको बताए। 'बजेट विनियोजन भइसकेपनि क्याबिनेटबाट निर्णय भइनसकेको हुँदा पुरानै दरअनुसार राशनभत्ता वितरण गरिएको हो,’ उनले भने।
गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा राशनभत्ता पुनरावलोकन समिति गठन भएको थियो। समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र अर्थमन्त्रालयका कर्मचारी समस्या रहन्छन्।
राशनभत्ता पुनरावलोकनका लागि उक्त समितिको बैठक २ पटक बसेको भए पनि समितिले अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन। समितिले निर्णय गरिसकेपछि उक्त प्रस्ताव क्याबिनेटमा पेस हुन्छ। क्याबिनेटबाट पास भएपछि मात्रै बढेको राशन नेपाल प्रहरीका कर्मचारीले पाउने एसएसपी थापा बताउँछन्।
बढेको रासनभत्ता पाउनका लागि अझै केही समय लाग्ने भएको छ। जिल्ला अनुसार नेपाल प्रहरीको राशनभत्ता फरक-फरक छ। प्रमुख जिल्ला अधिकारी (सिडिओ) को संयोजकत्वमा रहने एक समितिले महँगीअनुसार हरेक वर्ष भत्ता पुनरावलोकन गर्दै आएको छ। तर २०७१ साल यता मँहगी बढे पनि प्रहरीको राशनभत्ता बढ्न सकेको थिएन।
गृह मन्त्रालयका तत्कालीन सहसचिव वीरबहादुर बुढाको संयोकत्वमा रहेको समितिले २ वर्षमा राशनभत्ता पुनरावलोकन गर्न सुझाव दिएको थियो।
तर ५ वर्षमा यस वर्ष नेपाल प्रहरीको राशनभत्ता बढ्ने भन्दै बजेट आए पनि अहिलेसम्म प्रहरीले बढेको राशनभत्ता पाउन सकेका छैनन्।
अहिले काठमाडौं उपत्यकामा कार्यरत प्रहरी कर्मचारीले दैनिक १ सय ७५ रुपैयाँका दरले राशनभत्ता पाउँदै आएका छन्। बढेको राशनभत्ताको दर अनुसार अब काठमाडौं उपत्यकाको राशनभत्ता १ सय ९४ रुपैयाँ हुने एसएसपी थापाले बताए।
हिमाली जिल्लाहरुमा अहिले दैनिक राशनभत्ता ४ सय ४४ रुपैयाँ छ। अब ६ सय १५ रुपैयाँ पुग्ने भएको छ।
सशस्त्रलाई आएन बजेट
नेपाल प्रहरीको राशनभत्ता बढ्ने निश्चित भए पनि सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका लागि भने राशनभत्ता बापतको थप बजेट नै नआएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी सुरेजकुमार श्रेष्ठले जानकारी दिए। ‘जिल्ला दररेट अनुसार राशनभत्ता बढ्नुपर्छ भन्दै हामीले करिब ३ महिनाअघि नै गृह मन्त्रालयमा पत्र पठाएको थियौं,’ डिआइजी श्रेष्ठले भने, ‘तर अहिलेसम्म राशनका लागि भनेर थप बजेट आएको छैन।’
सशस्त्रलाई पुरानै दररेट अनुसार रकम विनियोजन भएकाले प्रतिदिन १ सय ७५ रुपैयाँकै दरले राशनभत्ता बुझेको सशस्त्रका एक प्रहरी निरीक्षकले नेपाल लाइभलाई बताए।
सशस्त्र प्रहरीको जस्तै समस्या राष्ट्रिय अनुसन्धानमा विभाग पनि छ। राष्ट्रिय अनुसन्धानका कर्मचारीलाई पनि पुरानै दररेट अनुसार बजेट विनियोजन भएको छ।
एउटै किसिमका सुरक्षा निकायमा फरकफरक राशनभत्ता हुने अवस्था आए संगठनकै 'मोरल डाउन' हुने सशस्त्रका अधिकारीले बताउँदै आएका छन्। यसबारेमा गृह मन्त्रालयलाई समेत पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई हुन नसकेको सशस्त्र प्रहरीको गुनासो छ। महँगी दैनिक बढ्ने तर ५ वर्षमा पनि राशनभत्ता बढ्न नसकेका कारण दैनिकी चलाउनै धौधौ पर्ने गरेको सशस्त्रका कर्मचारीको गुनासो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।