काठमाडौं- आफू एयर-होस्टेस भएको भन्दै फेसबुकमार्फत् सम्पर्क गरेर ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-६ की २७ वर्षीया तविता राई छिन्। उनले गुँरास श्रेष्ठ र गरिमा श्रेष्ठ नामका २ फेसबुक आइडी खोलेर युवकहरूलाई साथी बनाउँदै ठगी गर्ने गरेको पाइएको छ।
आफ्नो घर भारत सिक्किममा रहेको बताउने र आफू जेट एयरवेजमा एयर-होस्टेस भएको भन्दै राईले युवालाई आफूतर्फ आकर्षित गरेकी थिइन्। त्यस्तै आमा डाक्टर, बाबु अमेरिका बस्ने, दाई पाइलट भएको भन्दै फेसबुकमा कुरा गरेर प्रलोभन देखाउने गरेकी थिइन्।
युवाहरूलाई आफूतर्फ आकर्षित गरेपछि म्यासेन्जसमा भ्वाइस कल गर्ने र विभिन्न समस्या देखाएर रकम मागेर ठगी गर्ने गरेको पाइएपछि पीडित २ युवकले प्रहरीमा उजुरी दिएका थिए। पीडितको उजुरीको आधारमा यसरी ठगी गर्ने युवतीलाई झापाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मोहन थापाले जानकारी दिए।
उनले आफू एयर होस्टेस भएको हो भन्ने प्रमाणित गर्ने अन्य एयर होस्टेसका फोटा इन्टाग्रामबाट डाउनलोड गरेर आफ्नो फेसबुक अकाउन्टमा राख्दै आएकी थिइन्।
कुराकानी गर्न थालेपछि लभ परेजसो गर्ने र आकस्मिक समस्या देखाएर पैसा माग्ने गरेकी थिइन्। पैसा नदिए आत्महत्या गर्ने र ती युवकको नाम पोलेर फसाउने धम्की दिएपछि २ युवकले युवतीलाई पैसा दिएका थिए।
पक्राउ परेकी युवतीलाई ६ दिनको म्याद लिएर ठगी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।