प्रति एमबी ३ पैसामा टेलिकमको इन्टरनेट सेवा

नेपाल लाइभ | २०७६ भदौ १० मंगलबार | Tuesday, August 27, 2019 १६:२९:०० मा प्रकाशित

काठमाडौं– नेपाल टेलिकमले ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजना अन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ। कुनै अत्यावश्यक काम पर्‍यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्‍यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिने टेलिकमले जनाएको छ। यसका लागि कम्पनीले २४ घन्टा अर्थात् एकदिनभित्र प्रयोग गर्न सकिने गरी छुट योजना निरन्तर कार्यान्वयनमा छ। 

यो सुविधा लिनका लागि १ डी १ जी लेखेर १४१५ मा सन्देश पठाउनुपर्छ। सुविधा लिइसकेपछि २४ घन्टासम्म प्रयोग गर्न सकिने गरी जम्मा १ जिबी डाटा चलाउन सकिनेछ। यसका लागि जम्मा ४५ रुपैयाँ करसहित शुल्क लाग्दछ। यस छुट योजनामा प्रति एमबी करसहित ४.५ पैसा लाग्दछ। 

यसैगरी कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी ७ दिनका लागि जम्मा २ सय ५० रुपैयाँमा ७ जिबी डाटा योजना पनि उपलब्ध गराइरहेको छ। यो सेवा हासिल गर्न ७ डी ७ जी लेखेर १४१५ मा सन्देश पठाउनुपर्छ। यसमा ७ दिनसम्म प्रतिदिन १ जिबीका दरले डाटा प्रयोग गर्न सकिन्छ। यस प्याकेजमा प्रति एमबी करसहित ३.५ पैसा मात्र लाग्दछ। 

नेपाल टेलिकमको सबभन्दा सस्तो दरको इन्टरनेट सेवा प्रयोग गर्नका लागि २८ जिबीको सुविधा लिन सकिन्छ। यस प्याकेजमा जम्मा ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जिबी डाटा चलाउन पाइन्छ। यो सुविधा प्रयोग गर्नका निम्ति २८ डी २८ जी लेखेर १४१५ मा सन्देश पठाउनुपर्छ। यो सेवा दैनिक १ जिबीका दरले २८ दिनसम्म प्रयोग गर्न सकिन्छ। यो प्याकेज प्रयोग गर्दा इन्टरनेटको मूल्य प्रति एमबी करसहित जम्मा ३ पैसा मात्र पर्दछ।