काठमाडौं– बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं तारकेश्वर नगरपालिका–११ बस्ने ५५ वर्षीय प्रभात बिक्रम थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत ४ गतेको फैसलाले १५ दिन कैद र ८ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका थापालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं गल्कोपाखाबाट पक्राउ गरेको हो।
आर्थिक व्यवहार मिलाउने भनी उनले ८ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए। उक्त रकम भुक्तान गर्नका लागि भन्दै दिएको सिभिल बैंक शाखा कार्यालय पुतलीसडकमा रहेको खाताको चेक बाउन्स भएको थियो। चेक बाउन्स भएपछि बैकिङ कसुर मुद्दामा उनलाई उच्च अदालतबाट उक्त सजाय भएको थियो।
थापालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौं पठाइएको उक्त व्यूरोले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।