कविता : घोषणापत्र

 वाक्सेली थापा | २०७६ भदौ १४ शनिबार | Saturday, August 31, 2019 ०७:१६:०० मा प्रकाशित

म घोषणा गरिरहेछु
बुद्धले दरबार छोड्नु पर्नेछ फेरि
अर्को एक कालो मध्यरातमा
बन्द हुनेछन् स्वयम्भूका आँखाहरू
पशुपतिको गजुर ढल्नेछ
आगो लाग्नेछ कुमारी घरमा
बारात लिएर आएका श्रीराम
आइपुग्ने छैनन् सीताको आँगन
पदच्युत हुनेछन् सहलेस महाराज
भाँचिनेछ पारूहाङ्‌को तीर
थिविया चरी किनारा छाडेर भाग्नेछिन् रुँदैरुँदै
जब,
पानीको सट्टा बग्नेछ नदीमा होली वाइन।

नयाँ संविधान जारी भएको रात
एपोस्टोलिक दरबारमा भएको 
दिपावलीको चम्किलो प्रकाशले
पूरै भ्याटिकन सिटी उज्यालो मात्र भएन
मेरा आँखाहरू पनि पोलिरहेछ
र, पोलिरहेछ दिमाग
जो दिपावली पक्कै थिएन
उनीहरूका सबै देवताहरू मरेको शोकमा।

आफ्नै मुहारमा बिषादी रङ पोतेर
खै कुन इतिहास निर्माणमा जुटेका छौं हामी
जहाँ आफ्नै अनुहारको आकृति पलायन होस्?
हरदिन किन बिछ्याइरहेछौँ छातीमा
होली वाइनको लामो पाइपलाइन?
र, हातैमा रिमोट लिएर
किन कुरिबसेका छन् नयाँ महाराज
मानौं कि आजै गर्नुछ उद्घाटन?

पानीको थोपाजस्तो मेरो भविष्य
कर्कलाजस्तो चिल्लो हत्केलामा राखेर
होली वाइनले मातेर यतिबेला
मद्होष नाचिहेछन् महाराज
पाँचतारे होटलको लबीमा 
जसलाई प्रश्न छ एउटा
‘मेरो घोषणापत्रविरुद्ध
हजुरको अर्को कुनै घोषणा छ कि?
यदि छैन भने मेरो दावा छ 
घोषणापत्र सत्यकथामा परिणत हुनेछ।’