'विप्लवको कार्यकर्ता हुँ' भन्दै धम्की दिँदै रकम असुल्ने ३ जना पक्राउ

नेपाल लाइभ | २०७६ भदौ १५ आइतबार | Sunday, September 01, 2019 १९:३०:०० मा प्रकाशित

काठमाडौं- विप्लव समूहको काठमाडौं इन्चार्ज हुँ भन्दै सरकारी कार्यालयका प्रमुखलाई धम्की दिएर रकम असुली गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला झापा गौरादह नगरपालिका-७ घर हाल बानेश्वर बस्ने ४२ वर्षीय विश्वराज शर्मा, जिल्ला झापा भद्रपुर नगरपालिका-८ घर भई हाल भक्तपुर बस्ने ४१ वर्षीय सुवास कोईराला र जिल्ला झापा भद्रपुर नगरपालिका -८ घर भइ हाल काँडाघारी बस्ने २४ वर्षीय सुभम् घिमिरे रहेका छन्। 

उनीहरूले विभिन्न सरकारी कार्यालय प्रमुखहरुलाई नेकपा विप्लप समुहको काठमाडौं इन्चार्जका हुँ भन्दै घरमा बम पड्काउने र जिउ ज्यान लिनेसम्मको धम्की दिने गरेको प्रहरीले बताएको छ। 

शुक्रबार र आइतबार गरी २ दिनमा अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गते उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो। 

पक्राउ परेकामध्ये सुवास कोईरालाका साथबाट जनध्वनि साप्ताहिकको सम्पादकको परिचयपत्रसमेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।  उनीहरू  तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी महानगरी प्रहरी परिसर पठाइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।