गुम्फन : टिनएजरको भर्चुअल प्रेम

समर्पण श्री | २०७६ भदौ १६ सोमबार | Monday, September 02, 2019 १७:१५:०० मा प्रकाशित

‘तिमीले तिम्रै कथा भन्न जरुरी छ,’ एक भेटमा फिल्म निर्देशक मनोज पण्डितले भनेका थिए। त्यसपछि मैले घनिभूत रुपमा सोचेको थिएँ, ‘आखिर हाम्रा कथा के हुन् सक्लान्?’

त्यसकै केही दिनपछि एउटा नाटक हेरेँ–गुम्फन।

करिब एक घण्टा अवधिको उक्त नाटक हेरेपछि मन चंगा भयो। मनले खोजिरहेको जिज्ञासा मेटियो।

आजका युवाहरूको समस्या के हो? डिजिटल दुनियाँप्रति उनीहरुको बुझाइ के छ? के मोबाइल र ग्याजेटको भूमरीमा फस्दै गएको युवाचेत निसक्ने सम्भावन छैन? अभिभावकसँग उनीहरूको दूरी के कारण बढिरहेको छ? यस्तै यावत् विषयहरूको प्रस्टोक्ति रहेछ ‘गुम्फन’।

यो अनुवाद गरिएको नाटक हो। एलिसा सालोको ‘रयादेस्सवारा’ नाटकबाट नेली केइनानेन रलिया अब्सेसले अंग्रेजीमा अनुवाद गरे। ‘फलिङ’बाट जिवेश रायमाझीले यसलाई नेपालीमा अनुवाद गरेका हुन्। अनुवाद भए पनि नाटकमार्फत् नेपाली युवाहरूको मनोभावना ‘दुरुस्तै’ प्रस्तुत गरिएको छ।

६० को दशकयता नेपालमा प्रविधिले निकै फड्को मारेको छ। यसले समाजमा ल्याएको परिवर्तनको सकरात्मक प्रभाव त छँदैछ। यद्यपि, यसको नकरात्मक प्रभाव पनि टड्कारो रुपमा हामीमाझ रहिआएको छ।यसर्थ यस्ता प्रभावबारे बहस चलाउनु जरुरी छ।

डिजिटल दुनियाँमा फसेका युवा, सामाजिक सञ्जालको प्रयोग र यसले युवामा उत्पन्न गराएको मनोवैज्ञानिक रोगलाई नाटकले उठान गरेको छ।

नाटकमा दुई संसारलाई चित्रण गरिएको छ- रियल र भर्चुअल। भर्चुअल संसारले रियल संसारलाई फिक्का बनाइदिन्छ। त्यसमाथि युवाहरू नै मुख्य पात्रको रुपमा छन् नाटकमा।

हाम्रै वरपर आफ्नो अभिभावकसँग घुलमिल हुनुपर्ने उमेरमा दुई पुस्ताबीचको खाडल बढ्दो रुपमा रहेको देखिरहेका छौं। नाटकमा यसलाई मिहिन ढंगबाट चित्रण गरिएको छ।

नाटकका प्रमुख किशोर पात्र छन्-आयान। उनका बाबु शिक्षक हुन्छन्। छोराप्रति उनको अथाह प्रेम छ। तर, आयान बाबुसँग कुरा गर्न चाहँदैनन्। उनी आफ्ना साथीहरूसँग पनि खुल्न चाहँदैनन्। ढिलासम्म सुत्ने र लामो समय साइबर संसारमा बिताउन चाहन्छन् उनी। रियल लाइफप्रति उनको नत लगाव छ नत आकर्षण नै। उनी सधैं डिजिटल गार्डेनमा (भर्चुअल संसार) रमाउन चाहन्छन्। गार्डेनमा उनको नाम 'डार्क फ्लो' छ। डार्क फ्लोका धेरै फ्यान फलोअर छन्। त्यही संसारमा मात्र उनी खुसी हुन सक्छन्।

यही स्वभावबाट आजित बाबु छोरालाई कन्भिन्स गर्न खोज्छन्। तर, बाबुप्रति उनी आक्रोसमात्र पोख्ने गर्छन्। बाबुलाई आफ्नो बाटोको अवरोध मात्र सोच्छन्। यही बीचमा बाबुछोरा बीचको द्वन्द्व उत्कर्षमा पुग्छ। आयान र उनका बुवा 'बलि सर' बीचको नोकझोंकलाई नाटकले सशक्त ढंगले प्रस्तुत गरेको छ।

नाटककी अर्की पात्र एलिनालाई आफू मोटी हुनुको चिन्ता छ। त्यसबाहेक उनलाई कुनै समस्या छैन। एलिनालाई उनको मिल्ने साथीबाट गार्डेनबारे थाहा हुन्छ। उनले संयोगवश सोही साथीको आइडी हात पार्छिन् र गार्डेनमा जोडिन्छिन्। गार्डेनको संसार विछट्टै सुन्दर लाग्छ एलिनालाई। त्यहाँ अन्य साथीसँग उनी गाँसिन्छिन्। त्यसपछि उनको पनि एक्लिने समस्या सुरु हुन्छ।

साइबर संसारमै उनको डार्क फ्लोसँग प्रेम बस्छ। यसरी छोरीको स्वभावमा आएको अस्वभाविक परिवर्तन आमाको लागि चिन्ताको विषय बन्छ।

आयान र एलिना दुवैलाई उनका बाआमाले मनोपरामर्शको लागि अस्पताल लैजान्छन्।

डार्क फ्लो र एलिनाको प्रेमलाई नृत्यसँग जोडेर फरक ढंगले नाटकमा देखाउन खोजिएको छ। उनीहरूको भेटलाई भने फिल्मी ढंगले प्रस्तुत गरिएझैं लाग्छ।

नाटकको कथानक साइबर संसारको वरिपरी नै घुमेको छ। जसका कारण वास्तविक जीवनका पात्रहरूसँगको सामिप्यता, प्रेम र मानवीयता ओझेलमा छन्।

नाटकको अन्त्यमा रहस्य छाडिएको छ। जसलाई दर्शकले आफ्नै ढंगले बुझ्न सक्छन्। केही दिनदेखि सम्पर्क र कसैको नजरमा नपरेको आयानको मृत्यु भएजस्तो लाग्छ नाटक हेर्दैगर्दा। तर, उनकी आमा मरेकी हुन्छिन्। नाटकमा यस्तो अवस्थालाई स्पष्ट रुपमा हेर्न नपाइनुले यहाँ निर्देशकीय क्षमता अपुग लाग्छ।

डिजिटल दुनियाँबाट बिस्तारै झाँगिदै गएको आयानप्रतिको मोह र प्रेमले एलिनामा फरक भावभंगिमा विकसित हुँदै जान्छ। फूलको बुकी लिएर उभिएका बलि सरसँगको केही संवादमा एलिनाको अनुहारमा पीडाबोध छल्किन्छ। केहीबेरमा उनी पनि मञ्चमा ढलेको दृश्य देखिन्छ। धेरैलाई आयानलाई गुमाउँदा एलिनाको पनि इहलिला समाप्त भएको लाग्नसक्छ।

एलिनाको अनुहार भावबाट देखाउन पनि खोजिएको छ कि ऊ आयानसँगै विलीन हुन चाहन्छे। छुट्टै संसारमा रमाउन चाहन्छे। तर, खासमा एलिनामा आएको त्यो मानसिक विचलन मात्रै थियो। यो हुनुको प्रमुख कारण नै साइबर संसार हो।

नाटकमा लुडोको प्रयोग विशेष छ। व्यक्तिलाई लुडोको रुपमा प्रयोग गरिएको बिम्ब निकै आकर्षक लाग्छ। डिजिटल दुनियाँलाई देखाउन प्रपको रुपमा पात्रहरुले लगाउने एप्रोन र भित्तामा बलिरहेको बत्तीले यसलाई न्याय गरेको लाग्छ। यसले डिजिटल र रियल दुनियामा भएका उतारचढावबारे सजिलै बुझ्न दर्शकलाई सघाउ पनि पुग्छ।

नाटकलाई निर्देशक गरेका हुन् दिलीप रानाभाटले। उनी स्वयम् युवावयमा छन्।

यसभन्दा अघि उनले ‘सिंहदरबारको टेन्डर’ र ‘झिमिक् झिमिक् झ्याप’मा निर्देशन गरिसकेका छन्। यी नाटकमार्फत् राजनीतिक व्यंग्यमा काम गरेका निर्देशक रानाभाटको यो फरक प्रस्तुति हो।

गुम्फनको अर्थ हुन्छ गुँथ्ने वा गाँस्ने काम। नाटकमार्फत् युवाहरूको समस्यालाई उन्ने वा गुँथ्ने काम गरेका छन् निर्देशक रानाभाटले।

‘अनलाइन कसैले बनाइदियो। हामी भोकै दुईचार दिन बस्ने भइसक्यौँ तर एकदिन मोबाइल नहेरिकन बाँच्नै नसक्निे भइसक्यौँ, हामी कसैको गोटी बनिरहेका छौँ,’ निर्देशक रानाभाट नाटकको कथानकबारे धारणा राख्छन्।

कतिपय अवस्थामा युवाचेत अझै बलिष्ठ ढंगबाट प्रस्तुत हुनसक्थ्यो कि भन्ने लागे पनि अधिकांश स्थानमा कलाकारले आफूलाई अब्बल रुपमा प्रस्तुत गर्ने प्रयास गरेका छन्। मञ्चमा संगिता थापा, अद्धवेत अकेला, अभिषेक गैरे, आयुष्ना गिरी, इस्टु कार्की, एचके अधिकारी, गुगल लामा, मदन सुवेदी, प्रमोद खड्का र पिबिएस रिदम देखिएका छन्।

थिएटर भिलेजको प्रस्तुति रहेको उक्त नाटक शिल्पी थिएरटमा मञ्चन भइरहेको छ।