काठमाडौं- दुईपांग्रे सवारी युवाहरुको रोजाइमा पर्ने गरेको छ। सार्वजनिक यातायातमा विश्वसनीय नहुनु, उपलब्धतामा असहजता लगायत कारणले दुईपांग्रे सवारी अझ बढी लोकप्रिय बनेको हो। नेपालमा १५०/१६० सिसी सेगमेन्टका मोटरसाइकललाई पावर फुल सेगमेन्टको रुपमा लिइन्छ।
यो सेगमेन्टअन्तर्गत रहेका विभिन्न कम्पनीका तीन मोडल सुजुकी जिक्सर, यामाहा एफजेडएस भी-२, टिभिएस अपाची आरटिआर-१६० फोर-भी मोटसाइकल नेपाली बजारमा रुचाइएको मोटरसाइकलमा पर्छन्। चुस्त ब्रेक, ह्यान्डेलिङ क्षमता, स्मुथ गियरबक्स लगायतका विशेषताका कारण यी मोटरसाइकल ग्राहकको रोजाइमा पर्ने गरेका हुन्।
इन्जिन, विशेषता, मूल्यमा धेरै समानता रहेका यी मोटरसाइकलमध्ये नेपाली बजारमा यामाहा एफजेडएस सबै भन्दा धेरै बिक्री भएको देखिन्छ भने अपाची आरटीआर-१६० फोर-भी दोश्रो र जिक्सर तेस्रोे स्थानमा रहेको छ। यी तीन मोटरसाइकलमा उपलब्ध इन्जिन क्षमता, विशेषताबारे यहाँ उल्लेख गरिएको छ। यसैका आधारमा उपभोक्ताले आफूलाई उत्कृष्ट लागेको मोटरसाइकल रोज्न सक्छन्।
इन्जिन
सुजुकी जिक्सरमा १ सय ५५ सिसी एयर कुल्ड एसओएचसी टु भल्भ इन्जिन छ। यसले ८ हजार आरपिएममा १४.१ पिएस पावरका साथै ६ हजार आरपिएममा १४ एनएम टर्क उत्पादन गर्छ। यसमा पाँच स्पिड गियरबक्स उपलब्ध रहेको छ।
त्यस्तै अपाची आरटिआर १६० फोर-भीमा १ सय ५९.७ सिसी सिंगल सिलिन्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ। यो इन्जिनले ८ हजार आरपिएममा १६.५ पिएस पावर र ६ हजार ५ सय आर १४.८ एनएम टर्क उत्पादन गर्छ। यो मोटरसाइकलमा सुपर स्लिक मेटेड ५ स्पिड गियरबक्स रहेको छ।
यामाहा एफजेडएस भी-२ मोटरसाइकलमा उपलब्ध १ सय ४९ सिसी एयरकुल्ड एसओएचसी दुई भल्भ इन्जिनले ८ हजार आरपिएममा १३.२ पिएस पावरका साथै ६ हजार आरपिएममा १२.८ एनएम टर्क उत्पादन गर्छ। यसमा ५ स्पिड गियरबक्स रहेको छ।
स्पेसिफिकेसन र तौल
सुजुकी जिक्सर-१५५ को लम्बाइ २०२० एमएम, चौडाइ ८ सय एमएम र उचाइ १ हजार ३५ एमएम रहेको छ। १ हजार ३ सय ५५ एमएमको ह्विल बेस र १ सय ६० एमएम ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलको तौल १ सय ४० किलोग्राम रहेको छ। यसको सिट हाइट ७ सय ९५ एमएम रहेको छ।
त्यस्तै, टिभिएस-१६० फोर-भीको तौल १ सय ४९ किलोग्राम रहेको छ। यसको लम्बाइ २ हजार ५० एमएम, चौडाइ ७ सय ९० एमएम र उचाइ १ हजार ५० एमएम रहेको छ। यसमा १ हजार ३ सय ५७ एमएमको ह्विल बेस छ भने १ सय ८० एमएमको ग्राउन्ड क्लियरेन्स छ। यसको सिट हाइट ८ सय एमएम रहेको छ।
यामाहा एफजेडएस भी-२ को लम्बाइ १ हजार ९ सय ९० एमएम, चौडाइ ७ सय ८० एमएम र उचाइ १ हजार ८० एमएम रहेको छ। १ सय ३७ किलोग्रामको यो मोटरसाइकलमा ह्विल बेस १ हजार ३ सय ३० एमएम र ग्राउन्ड क्लियरेन्स १ सय ६५ एमएम रहेको छ। यसको सिट हाइट ७ सय ९० एमएम रहेको छ।
विशेषताहरु
टिभिएस-१६० फोर-भीमा रेसिङ डबल ब्यारल एक्जस्ट, रोट्रो पेटल डिस्क ब्रेक, फुल्ली डिजिटल स्पिडोमिटर, फोम इन प्लेस सिट, अग्रेसिप ट्यांक, आकर्षक हेडल्याम्प, इन्जिन कावलकोलगायत विशेषता छन्।
यामाहा एफजेडएस भी-२ मा बडी ग्राफिक्स, पास स्विच, डिजिटल स्पिडोमिटर, डिजिटल ट्रिपमिटर, डिजिटल फ्युल इन्डिकेटर, सेटअप सिट, प्यासेन्जर फुटरेस्ट तथा फ्ल्याट टायरलगायतका विशेषता उपलब्ध छन्।
त्यस्तै, सुजुकी जिक्सर-१५५ मा स्पोर्टी टेल प्यानल, डबल स्पोर्टी साइलेन्सर, मोनो सस्पेन्सन, डिजिटल मिटर, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक तथा डिस्क ब्रेक, एलइडी हेडलाइटजस्ता सुविधा छन्।
मूल्य
नेपाली बजारमा यी तिनै बाइकको मूल्य समान २ लाख ८५ हजार ९ सय रुपैयाँ रहेको छ। समान मूल्यले यी मोटरसाइकल निक्कै प्रतिस्पर्धी रहेको देखाउँछ।
पछिल्लो समय युवा पुस्ताको रोजाइमा पनि यीनै मोटरसाइकल पर्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।