होटलमा ‘भाँडा माझ्ने केटो’ कसरी बन्यो विश्वकै उत्कृष्ट फुटबलर?

नेपाल लाइभ | २०७६ भदौ १८ बुधबार | Wednesday, September 04, 2019 १५:३०:०० मा प्रकाशित

काठमाडौं- जब फुटबल खेलाडी आफ्नो खेलको उचाइमा पुग्छन्, तब उनीहरुलाई नियाल्नु रोमाञ्चक हुन्छ। विनम्रता उनीहरुको खेलमा नै झल्किन्छ। पछिल्लो समय एक डिफेन्डर आफ्नो खेलको त्यस्तै उचाइमा छन्- भर्जिल भ्यान डाइक।

अग्ला नेदरल्यान्डका खेलाडी भ्यान डाइकका रुपमा विश्व फुटबलमा वर्षौंपछि एक डिफेन्डरको यति चर्चा भइरहेको छ। जहिलेदेखि भ्यान डाइक लिभरपुलमा छन् त्यही दिनदेखि हरेक स्ट्राइकरका लागि ‘डर’ बनेका छन्।

कुनै बेला होटलमा भाँडा माझ्दै कमाइको बाटो गरेका भ्यान डाइकले सोचेका पनि थिएनन्, उनको फुटबल कला यसरी फैलनेछ। उनीसँगै विलियम फुटबल क्लबमा रहेका साथीहरु र प्रशिक्षकले समेत भ्यान डाइकको यो उचाइ सोचेका थिएनन्।

त्यसैले त साना ज्यानका अप्ठ्यारा खेलाडीका रुपमा चिनिएका भ्यान डाइकलाई विलियमले सम्झौता गर्नसमेत अस्वीकार गरेको थियो। अहिले लिभरपुलमा ७५ मिलियन पाउन्डका डिफेन्डर बनेका भ्यान डाइकको योगदानको मूल्य त्योभन्दा धेरै छ।

विश्व फुटबलमा पछिल्लो दशक एक छत्र राज गरिरहेका दुई स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई पछि पारेर युइएफए वर्ष खेलाडीको अवार्ड जितेपछि त उनको चर्चा अझ थपिएको छ। उनै भ्यान डाइक फिफाले दिने वर्षका उत्कृष्ट खेलाडीको अवार्डमा पनि रोनाल्डो र मेस्सीसँगै प्रतिस्पर्धामा छन्।

फिफा वर्ष खेलाडीमा मात्रै होइन विश्व फुटबलमा सर्वाधिक ठूलो व्यक्तिगत पुरस्कार मानिने 'बालोन डि’ओर'मा पनि भ्यान डाइकको चर्चा चलिरहेको छ। च्याम्पियन्स लिग विजयी टिमका एक डिफेन्डरका लागि योभन्दा ठूलो खुसी अर्को हुने छैन।

भ्यान डाइकलाई सुरुवाती दिनमा प्रशिक्षण गरेका प्रशिक्षक रोब्बी हेन्डरिक्स उनलाई 'अप्ठ्यारा बच्चा'का रुपमा बुझ्छन्, जतिबेला उनलाई हरेक कुरामा घुलमिल गराउनै समस्या थियो। त्यही भएर हुनुपर्छ भ्यान डाइकलाई व्यावसायिक फुटबलर बनाउन सकिन्छ भन्नेमा धेरैले विश्वास गरेका थिएनन्। तर, त्यसलाइै गलत बनाउँदै भ्यान डाइक सन् २००८ बाट फुटबल यात्रामा राम्ररी लागिपरे, जतिबेला उनी १७ वर्षका मात्र थिए।

पहिले त होचा कद, सुस्त शरीर र असन्तुलित खेलका कारण उत्कृष्ट सेन्टर डिफेन्डर हुन नसक्ने भन्दै आलोचित बनिरहेका भ्यान डाइक हलक्क अग्लिएजस्तै खेलले पनि उचाइ लिन थाल्यो। ६ फिट ४ इन्च अग्ला भ्यान डाइक राम्रो खेल्न थालिसक्दा पनि विलियम क्लबमा पहिलो रोजाइमा भने पर्न सकेका थिएनन्।

यदि नेदरल्यान्डका पूर्वफुटबलर मार्टिन कोम्यानले भ्यान डाइकलाई देखेका थिएनन् भने उनी होटलमै भाँडा माझिरहेका हुन सक्थे। आफ्नो समयका राम्रा डिफेन्डरका रुपमा चिनिएका कोम्यानले नै भ्यान डाइकलाई ग्रोनिनगेन क्लबमा लगे, जहाँ उनको खेलले चिनिने मौका पायो। सेन्टर डिफेन्समा पिलरका रुपमा भ्यान डाइक स्थापित भए।

सन् २०१० मा ग्रोनिनगेन क्लबमा गएका भ्यान डाइकले पहिलो रोजाइको टिममा खेल्न २०११ सम्म कुर्नुपरेको थियो। अरुले विश्वास नगरे पनि त्यो समय भ्यान डाइकलाई आफूमाथि भने पूर्ण विश्वास हुँदै थियो। अवसर पाएमा गरेर देखाउने त्यही इच्छाले नै उनको मेहनत बढ्यो र त्यसको प्रभाव खेलमा देखियो।

सन् २०११ मा नेदरल्यान्डको यू-१९ टिममा रहेका उनी यू-२१ हुँदै २०१५ मा राष्ट्रिय टिममा पुगे। क्लब फुटबलमा दुई वर्ष ग्रोनिनगेन क्लबमा नै रहेका भ्यान डाइक २०१३ मा स्कटल्यान्डको सेल्टिक क्लबमा गए। त्यहाँबाट २०१५ मा इंग्लिस क्लब साउथह्याम्पटनमा गएका भ्यान डाइक २०१८ देखि लिभरपुलमा आफ्नो कला देखाइरहेका छन्।

ग्रोनिनगेनका प्रशिक्षक रोबर्ट मासकान्टको विचार भने भ्यान डाइकबारे पहिलेदेखि नै फरक थियो। उनी भ्यान डाइकमा आलोचना सुन्ने र त्यसमा सुधार गर्नसक्ने ठूलो खुबी रहेको बताउँछन्। सानो क्लबमा नै रहँदा पनि उनी मानिसहरुको हरेक कुरा सुन्थे र त्यसलाई सहजरुपमा ग्रहण गर्ने हुँदा त्यतिबेला नै आफू एक दिन उचाइमा पुग्ने विश्वास उनमा देखिन्थ्यो।

फुटबलमा एकपछि अर्को उचाइ पाउँदै गएका भ्यान डाइक २०१२ मा भने मृत्युकै मुखबाट निस्किएका थिए। त्यो घटना सम्झँदा अहिले पनि भ्यान डाइक आफू यस्तो अवस्थामा फर्केको विश्वास गर्न सक्दैनन्।

भ्यान डाइक सन् १९९१ को जुलाईमा नेदरल्यान्डको ब्रेडामा सामान्य परिवारमा जन्मिएका हुन्। उनकी आमा सुरिनेम (१९७५ मा नेदरल्यान्डबाट स्वतन्त्र भएको सानो एक देश) कि र बाबा नेदरल्यान्डका हुन्। त्यसैले भ्यान डाइकमा पनि दुवैतिरको संस्कार बसेको छ। उनी अहिले पनि रमाइलो मान्दै बेलाबेला सुरिनेम पुगिरहेका हुन्छन्।

भ्यान डाइक १६ वर्षको हुँदासम्म होचो व्यक्तिका रुपमा चिनिन्थे। उनको सानो भाइ नै उनीभन्दा अग्लो थियो। होचो हुनु समस्या नभएको भए पनि फुटबलमा रहर भएको एक डिफेन्डर होचो हुनुमा मानिसहरुले देख्ने समस्याले भ्यान डाइक आजित थिए।

त्यसबेला उनको घुँडामा केही समस्या थियो। त्यसले उचाइ बढ्नमा देखिएको समस्यासँगै अरु समस्याहरु पनि आइरहेका थिए। तब उनी फिजियोमा गएर निरन्तर सुधारका लागि काम गर्न थाले। रिह्यावमा गएको ६ महिना जस्तोमा उनमा सुधार पनि देखियो।

बिस्तारै स्वास्थ्यमा राम्रो हुँदै गएपछि १६ वर्षको हुँदा उनी राइट ब्याक डिफेन्समा अगाडि बढ्न थालिसकेका थिए। सेन्टर ब्याकमा खेल्नका लागि भने त्यही खेल पर्याप्त भइरहेको थिएन। तर, जब उनी १७ वर्षका पुगे, एकैपटक १८ सेन्टिमिटर बढे। त्यसले उनको शरीरमा आएको परिवर्तनसँगै खेलमा पनि परिवर्तन ल्याउन मद्दत मिल्यो।

भ्यान डाइक विलियमबाट ग्रोनिनगेनमा पुग्दा नेदरल्यान्डको यू-१९ र यू-२१ राष्ट्रिय टिममा पनि अवसर पाउँदै गए। नेदरल्यान्डको उमेर समूह टिमबाट देखाएको खेलले नै उनको खेलमा धेरै सुधार हुँदै गएको थियो। त्यहाँबाट नै सेल्टिक फुटबल क्लबमा जाने बाटो पनि बन्यो।

भ्यान डाइक ग्रोनिनगेनमा अभ्यासमा जाँदाका दिनहरु पनि भिन्न छन्। बाइकमा जानुपर्ने भएकाले क्लबको पहिलो तलब त उनको ड्राइभिङ सिक्नमा नै खर्च भएको थियो। भ्यान डाइक ग्रोनिनगेनमा सम्झौता गर्नु अघिसम्म एउटा होटलमा भाँडा माझ्ने काम गर्थे। त्यसले नै उनलाई जीवन चलाउन सजिलो भइरहेको थियो। सोमबार, मंगलबार र बिहीबार फुटबल अभ्यास गर्ने र शनिबार खेल्ने त्यसपछि बुधबार र आइतबार बेलुका ६ बजेदेखि रातिसम्म होटलमा भाँडा माझ्ने काम उनको तालिका नै बनेको थियो।

त्यसरी भाँडा माझेर उनी महिनामा करिब ३ सय ५० युरो कमाउथे। त्यही पैसाले उनी साथीहरुलाई बजारमा म्याकडोनाल्ड खुवाउनसम्म लैजान्थे। भ्यान डाइकले पैसाको महत्व बुझेका दिन पनि तिनै थिए, जसले उनलाई धेरै खुसी दिन्थ्यो। ‘मैले ती दिनहरुमा नै पैसाको महत्व बुझेको थिएँ। पैसा महत्वपूर्ण हो तर सबैभन्दा महत्वपूर्ण भने होइन,’ भ्यान डाइक भन्छन्।

भ्यान डाइकको जीवन त्यसैगरी चलिरहँदा एक्कासी उनलाई कहिल्यै मैदान फर्किन सक्दिनँ कि भन्ने लाग्न थालेको थियो। त्यसको कारण थियो उनी १३ दिन अस्पताल बस्नुपर्ने गरी बिरामी भए। ‘ती रातहरु असाध्यै कष्टकर थिए। एपेन्डिक्सको समस्याले जटिल रुप लिइसकेको रहेछ। पेटमा नै इन्फेक्सन भइसकेको थियो। त्यसको जानकारी पनि २०१२ को अप्रिल १ मा भएको हो,’ भ्यान डाइकले सम्झिएका छन्।

अस्पतालमा हुँदा भ्यान डाइक र उनकी आमा लगातार भगवानसँग प्रार्थना गरिरहेका थिए। त्यो मात्रै त्यस्तो बेला हो, जहाँ भ्यान डाइकको रोजाइमा फुटबल पनि दोस्रो नम्बरमा मात्रै परेको थियो। ‘स्वास्थ्यको अगाडि अरु कुरा गौण हुने नै भए। उपचारमा मलाई हस्ताक्षर गराइएका कागज हेर्दा म मर्न पनि सक्ने कुरा लेखिएका थिए। त्यसले मेरो आँखामा मृत्युको भय छाएको थियो,’ भ्यान डाइक पुराना दिनमा पुग्दै भावुक भए।

ग्रोनिनगेनमा त्यो समय भ्यान डाइक राम्रै खेल्न भइसकेका थिए। एकपटक हिरेनभिन क्लबसँगको महत्वपूर्ण खेलअघि उनी बिरामी परे। बिरामी परेपछि बल्ल उनलाई खानपानमा आफूले ध्यान नदिएको याद भयो। अस्वस्थकर खानेकुराले नै रोग झनै बढाएको हो कि भन्ने उनलाई लाग्यो। अपरेसन अगाडिको दुई हप्ता त असाध्यै गाह्रो भएको हो। भ्यान डाइकका लागि त्यसपछिको अस्पतालको समय पनि सजिलो भने थिएन।

भ्यान डाइकका ती दिन धेरै समय टेलिभिजन हेरेरै बिते। एक दिन टिभी लगाइरहँदा ‘भिभा ला भिडा’ बोलको एउटा गीत आयो। त्यो गीतमा व्यक्त भएका शब्दहरुले भ्यान डाइकलाई झनै भावुक बनाएको थियो। अहिले पनि त्यो गीत सुन्दा उनलाई अप्ठ्यारा दिनहरुको सम्झना आउँछ। अहिले आफूमाथि गर्व हुने यो अवस्थामा आइपुग्दा उनी ती दिनहरु बिर्सन पनि सक्दैनन्।

अपरेसनपछि पनि भ्यान डाइक १० दिनसम्म त अस्पतालमा ओछ्यानमा नै थिए। हिँड्ने रहर भने बढिरहेको थियो। ‘जब अस्पतालबाट उठेर पहिलोपटक हिँड्न पाएँ तब पागलपन सवार भए जसरी म १० मिटर जति हिँडे। केही समयमा फिजियोसँग काम गर्न थालेँ र बिस्तारै ठिक हुँदै गयो। त्यसपछि ठिक भएर नै म सेल्टिक क्लबमा गएको थिएँ,’ भ्यान डाइकले सुनाए।

सेल्टिकमा दुई सिजन बिताएर भ्यान डाइक साउथह्याम्पटनमा गएका थिए। साउथह्याम्पटनमा पनि दुई सिजन बसेपछि उनका लागि लिभरपुलमा जाने अवसर आएको हो। साउथह्याम्पटनमा अन्तिमतिर खेलिरहँदा पनि उनी घाइते भएर बसेको आठ महिना भइसकेको थियो। त्यसैले अन्तिमका दिनहरुमा उनले असाध्यै मेहनत गरेका हुन्। त्यही मेहनतले नै लिभरपुलमा जाने बाटो बन्यो जस्तो उनी स्वयम्लाई लाग्छ।

२०१७ को च्याम्पियन्स लिग फाइनलमा युभेन्टस र रियल मड्रिड खेल्दा खेल हेर्न भ्यान डाइक कार्डिफ पुगेका थिए। त्यहाँ लिभरपुलका समर्थकहरुले उनलाई लिभरपुल आउन आग्रह गरेका हुन्। ‘उनीहरुको स्वभाव र भन्ने शैली असाध्यै राम्रो र सम्मानजनक थियो। लिभरपुल आएपछि त मैले सक्नेसम्मको मेहनत गरिरहेको छु। अहिले पनि सुरुको त्यो दिन बिर्सन सक्दिनँ,’ उनले भने।

भ्यान डाइक फुटबलभन्दा बाहिरको संसारमा पनि उत्तिकै घुलमिल छन्। विभिन्न चलचित्रदेखि टेलिभिजन कार्यक्रमहरुसमेत हेरिरहेको हुन्छन्। पहिलेभन्दा निकै फेरिएको संसार देख्दा कहिलेकाहीँ उनलाई दिक्क पनि लाग्छ। मानिसहरुमा सामाजिक सञ्जालको प्रभाव चाहिनेभन्दा बढी परिरहेको हो कि भन्ने भान उनमा छ। त्यसले मानिसहरुलाई देखावटी बनाएको उनलाई चित्त परेको छैन।

उनी उदाहरण दिँदै भन्छन्- ‘जस्तो कि हामीले खेलमा जितेका बेला सामाजिक सञ्जालमा संसारकै उत्कृष्ट टिमका रुपमा मानिसहरु चिनाइरहेका हुन्छन्। म संसारकै उत्कृष्ट सेन्टर ब्याक डिफेन्डर भइरहेको हुन्छु। हारेका बेलामा हामी सबैभन्दा नराम्रो भइरहेका हुन्छौँ। हामीले जिएको जिन्दगी नै यस्तैमा छ, रहेछ।’

अहिले भ्यान डाइक फुटबलमा सबैभन्दा ठूलो खुसी नै लिभरपुलमा पाइरहेका छन्। राम्रो खेलाडीहरुको समूहमा उनको जितको चाहना बलियो बनिरहेको छ। हरेक उपलब्धि हासिल गर्न चाहने र त्यसका लागि मेहनत गर्ने स्वभाव उस्तै देखिएको छ। लिभरपुलमा आएको दिनदेखि नै परिवारको एक सदस्यका रुपमा भ्यान डाइको स्वागत भएको छ। उनी भन्छन्–‘यही व्यवहारले पनि खेलमा अझ मेहनत गर्न मन लाग्छ।’

सक्दासम्म मेहनत गर्ने स्वभावका भ्यान डाइक खेल्न छाडेपछि के हुन्छ भन्ने सोचेर बस्दैनन्। ‘सक्दासम्म यसैगरी राम्रो फुटबल खेलिरहनेछु। खेल्न छाडेपछिको दिन के हुन्छ भन्ने त थाहा छैन। यति चाहिँ थाहा छ कि मलाई शान्त भएर बस्न मन पर्छ,’ उनले भने।

भ्यान डाइकले पाएका उपलब्धिको सबैभन्दा महत्वपूर्ण कडी नै उनले आफैंले देखेको बाटोमा गर्ने मेहनत नै हो। त्यसैले त विश्व फुटबलमा एकछत्र छाइरहेका क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीसँग दाजिने अवस्थामा पुगिरहेका छन्।

(यो सामग्री इएसपिएन एफसी, फिफा, युइएफए र बिबिसीमा आधारित रहेर नेपाल लाइभका ऋग्वेद शर्माले तयार पारेका हुन्। केही अंश बिबिसी रेडियोको अन्तर्वार्तामा समेत आधारित छ।)