काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदकाबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाई लिएर चर्काचर्की भएको छ।
नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री ओली अहिले बिरामी भएकाले उनलाई आराम दिन सुझाव दिए। उनले लामो समय कार्यकारी प्रधानमन्त्री देश बाहिर बस्दा सुरक्षा र कुटनीतिक रुपमा समेत प्रश्न उठ्ने भन्दै प्रतिनिधिसभाको बैठकमा प्रश्न गरेका थिए। थापाले बोलेलगत्तै बोल्न आएका नेपाल कम्युनिस्ट पार्टीका सांसद सूर्यप्रसाद पाठकले उनलाई जवाफ दिने प्रयास गरे। उनले प्रधानमन्त्री ओलीको स्वास्थ्यभित्र आफ्नो दलको अस्तित्व खोजेको आरोप समेत लगाए।
पाठकले थापाप्रति लक्षित गर्दै प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेजस्तै गरी प्रधानमन्त्रीले राजीनामा दिए हुन्थ्यो भन्ने आशय प्रकट नर्गन थापालाई आग्रह गरे। उनले धेरै मानिसलाई यो सरकार ५ वर्ष चलेमा मुलुकले फड्को मार्ने र आफ्नो दलको अस्तित्व धरापमा पर्ने चिन्ता देखिएको पनि टिप्पणी गरे।
यस्तो छ जवाल जवाफ
गगन थापा
संसदमा नेकपाको बहुमत रहेको र सजिलैसँग संसदले नयाँ प्रधानमन्त्री छान्न सक्ने स्मरण गराउँदै थापाले प्रश्न गरे। ‘नेकपामा प्रधानमन्त्री भएका व्यक्ति पार्टीमा हुनुहुन्छ। प्रधानमन्त्रीको इच्छा राख्ने व्यक्तिहरू हुनुहुन्छ। यस्तो बेलामा हामी विश्राम दिन किन चाहिरहेका छैनौं?’
'नेकपाका युवा साथीहरूले प्रधानमन्त्रीलाई ‘बा’भनेको सुनेको छु। प्रधानमन्त्री हाम्रो पनि ’बा’सरह हुनुहुन्छ। हाम्रो ’बा’ बिरामी हुनुभएको भए धपेडी नगर्नुस्। आराम गर्नुस्, विश्राम लिनुस् भन्थ्यौं,’ उनले भने, ’हामी प्रधानमन्त्री ’बा’लाई यसो भन्न किन सक्दैनौं।’
'नेपालको आन्दोलन र शान्ति प्रक्रियामा ठूलो योगदान पुर्याउनुभएको, ठूलो राष्ट्रिय जिम्मेवारी पूरा गर्नुभएको र स्वाभिमानको लडाइँमा अथक योद्धा प्रधानमन्त्री लामो समयसम्म हाम्रो बीचमा अभिभावकको रूपमा देख्न चाहन्छौं। तर शरीर सबैको शरीर नै हो। मन सबैको मन नै हो। प्रधानमन्त्रीको ईच्छाको म सम्मान गर्छु,’ उनले भने।
सूर्यप्रसाद पाठक
‘धेरै मानिस र शक्तिलाई के लागेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा यो सरकार ५ वर्ष चल्यो भने मुलुकले फड्को मार्नेछ, त्यतिबेला अफ्ना दलहरुको अस्तित्व धरापमा पर्ने त होइन भन्ने चिन्ता छ,’उनले भने, ‘मेरो आग्रह के छ भने प्रधानमन्त्रीको स्वास्थ्यभित्र आफ्नो दलको अस्तित्व नखोजौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।