काठमाडौं- चिनियाँ राज्य परिषद् सदस्य तथा विदेश मन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणका लागि आइतबार (भदौ २२ गते) काठमाडौं आउने भएका छन्।
मन्त्री यी पूर्व निर्धारित नयाँ दिल्ली भ्रमण रद्द गर्दै नेपाल आउन लागेका हुन्। दुईदिने भ्रमणका लागि २३ गते मन्त्री यी नयाँ दिल्ली जाने तालिका तय गरिएको थियो, जहाँ उनी भारतीय सुरक्षा सल्लाहकार अजित डोभलसँग सीमाबारे वार्ता गर्ने योजनामा थिए।
अफगानिस्तानमा जारी शान्ति वार्ताबारे शनिबार पाकिस्तानमा पुगेर कुराकानी गरेर विदेश मन्त्री यी सिधै आइतबार नेपाल आउनेछन्।
तर, उनको भ्रमण मितिबारे भने परराष्ट्र मन्त्रायलका अधिकारीहरुले औपचारिक प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। ‘नेपाल भ्रमण निम्तो दिइएको हो तर आइतबार नै आउनेबारे थाहा भएन,’ मन्त्रालयका एक अधिकारीले भने।
केपी ओली नेतृत्वमा सरकार बनेयता नेपाल भ्रमणमा आउने मन्त्री यी सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुन्। उनको नेपाल भ्रमणलाई दशकौंदेखि चिनियाँ राष्ट्र प्रमुखबाट हुन नसकेको भ्रमणको अवस्थालाई तोडी चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीका बुझिएको छ।
चिनियाँ राष्ट्रपति सी जिन पिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको अनौपचारिक भ्रमण लागि ११ अक्टोबरमा भारत जाँदैछन्। सन् २०१८ मा दुई नेताले चीनको वुहानमा दुई दिने अनौपचारिक भेटघाट गरेका थिए जुन वुहान शिखर सम्मेलनका नाममा चर्चित छ।
वुहान शिखर सम्मेलनको दोस्रो संस्करणमा रुपमा सी र मोदी यसपालि भारतमा बस्न लागेका हुन्। यसअघि भारतको वाणारसीमा उक्त सम्मेलन आयोजना गर्ने भनिए पनि सुरक्षा चुनौतीका कारण त्यो स्थान रद्द गरिएको छ। अब उक्त सम्मेलन सम्भवत: तमिलनाडूको महावलीपुरम सहरमा आयोजना गरिनेछ।
सी भारतको दुई दिने भ्रमण सकेर स्वदेश फर्किने बेला अक्टोबर १५ मा नेपाल आउने ठानिएको छ। गत १५ असारमा ६ दिने चीन भ्रमणमा गएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समकक्षी यीसँगको भेटमा पनि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे चर्चा गरेका थिए। १८ असारमा दुई मन्त्रीहरुबीच भएको भेटमा उपयुक्त समयमा चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने विषयमा सहमति भएको थियो।
दुई दिने नेपाल भ्रमणका क्रममा चिनियाँ विदेश मन्त्री यीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीपमा ज्ञवाली लगायतसँग द्विपक्षीय भेटवार्ता गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।