काठमाडौं- आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित रहेकाले वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बङ्गालको खाडीको उत्तर-पश्चिम भागमा बनेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बदलीसँगै वर्षा भइरहेको मौसमविद् मीनकुमार आर्यालले बताए।
'उक्त प्रणालीको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' मौसमविद् अर्यालले भने। मनसुनको समय भएकाले वर्षा निरन्तर नभई केही समय घाम लाग्ने केही समय वर्षा हुनेक्रम चलिरहने बताइएको छ।
आज देशभर सामान्य बदली रही पश्चिमी र मध्यका अधिकांश र पूर्वका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार र शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।