रोल्पा- अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर रोल्पामा एक बालकको ज्यान गएको छ। सुनछहरी गाउँपालिका १ फुलिवनमा आएको पहिरोमा च्यापिएर सोही ठाउँका पृथवहादुर घर्तीका १४ वर्षीय छोरा शुकबहादुरको मृत्यु भएको हो।
तीजको नाच हेरेर बुधबार बिहान घर फर्कंदै गरेका घर्ती पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए। दुर्घटना भएको थाहा पाएपछि घटनास्थल पुगी प्रहरीले उनको शव निकालेको थियो।
बिहानै पहिरोमा परेका घर्तीको शव दिउँसो मात्रै निकालिएको स्थानीय हर्क घर्तीले जानकारी दिए। स्थानीय फुलिवन बजारमा सुतेर बिहानै घर जान हिँडेका उनी फुलिवन नजिकको झंकी खोला क्षेत्रमा गएको पहिरोमा परेका थिए।
सो स्थानमा अझै पनि पहिरो लडिरहेको हुँदा थप दुर्घटना हुन सक्ने भयले स्थानीय त्रसित बनेका छन्। मृतक घर्तीको शव पोष्टमार्टमका लागि रोल्पा अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।