काठमाडौं- एसियाली विकास बैंक (एडिबी)को सहयोगमा सञ्चालित सम्पूर्ण आयोजना कार्यान्वयनमा ढिलाइ भएको छ। एडिबीको सहयोगमा सञ्चालित सडक, शिक्षा, सहरी पूर्वाधार र ऊर्जा क्षेत्रका आयोजना कार्यान्वयनमा ढिलाइ भएको हो।
एडिबीको ऋण सहयोगमा सञ्चालन भइरहेको सासेक हाइवे सुधार आयोजना गत चैतको मध्यतिरै सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार परिचालनदेखि परामर्शदाता नियुक्तिसम्मका कारणले ढिलाइ भएको छ। यसैगरी प्रकोप र भूकम्पछिको सहायता कार्यक्रम पनि समयमै सम्पन्न नभएको एडिबीले उल्लेख गरेको छ।
वर्ष २०१९ को दोस्रो त्रिपक्षीय समीक्षा कार्यक्रममा एडिबीका पोर्टफोलियो म्यानेजमेन्ट युनिट प्रमुख रुदि भान डेलले काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार कार्यक्रम, काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन कार्यक्रम र क्षेत्रीय सहरी विकास कार्यक्रम पनि समयमै सम्पन्न नभएको जानकारी दिए। उनका अनुसार ऊर्जा क्षेत्रका कार्यक्रम पनि समयमै सम्पन्न भएका छैनन्।
एडिबीले नेपालमा आफ्नो सहायता रकम करिब ३ खर्ब रुपैयाँ (२ अर्ब ७० करोड अमेरिकी डलर) बराबरको पुगेको जनाएको छ। तर, यो रकममध्ये आधा पनि भुक्तानी भएको छैन।
त्रिपक्षीय छलफल कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले प्रत्येक पटकको समीक्षामा उस्तै किसिमका समस्याबारे छलफल भए पनि तिनको निराकरण नभएको उल्लेख गरे।
यस्तै, एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले नेपालमा आयोजना कार्यान्वयन बलियो बनाउन अझै सुधारका काम गर्न बाँकी रहेको जिकिर गरे। उनले स्थानीय र प्रदेश सरकारहरुको क्षमता अभिवृद्धिमा अझै काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।