काठमाडौं- धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकु मार्ग खोल्ने सहमति भएको छ। बुधबार बिहान स्थानीय जनप्रतिनिधि, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधि एवं धरहरा निर्माण गरिरहेको कम्पनीका प्रतिनिधिसहितको छलफलमा उक्त समझदारी बनेको हो।
सोही समझदारीअनुसार यस वर्षका लागि अस्थायी मार्ग निर्माण सुरु भइसकेको छ। उक्त मार्ग पुरानो धरहरा र अब बन्ने धरहराको बीचमा रहनेछ। उपाकु मार्ग भएर हिंड्ने मानिसहरु तेबहालबाट छिरेर भोटेबहाल जाने बाटोतिर निस्कन सक्नेछन्।
काठमाडौं महानगरपालिका-२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले उपाकु मार्ग खोल्ने सहमति भएको जानकारी दिए। धरहरा क्षेत्र यही वडामा पर्छ। 'परम्परागत रुपमा जहाँबाट हिँड्ने गरिको हो, हाललाई त्यहाँ अस्थायी मार्ग बनाउने सहमति भएको छ,' उनले भने।
धरहरा पुनर्निर्माण कार्यको अनुगमन गरिरहेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वरिष्ठ विज्ञ राजुमान मानन्धरले भदौ २१ गतेसम्म अस्थायी मार्ग तयार हुने जानकारी दिए। 'उपाकु मार्गका लागि पुरानो धरहरा र नयाँ बनिरहेको धरहराका बीचमा करिब १० फिट बाटो छाडेका छौं। यस वर्षका लागि यहाँ अस्थायी मार्ग बनाइनेछ र पछि यहीँ स्थायी उपाकु हिँड्ने बाटो हुनेछ।'
बाटो सम्याएर हिंड्न मिल्ने बनाउने सहमति भएको पनि उनले जानकारी दिए।
नेवारी समुदायमा इन्द्रजात्राका बेला भाद्र शुक्ल द्वादशीका दिन हातमा दियो बालेर उपाकु हिँड्ने चलन छ। यस वर्ष भदौ २४ गते उपाकु परेको छ।
त्यसैगरी, खिँचापोखरी-मचा ढोका-तेबहाल हुँदै टुँडिखेल निस्कनका लागि अस्थायी पैदल मार्ग खोल्ने कार्य पनि अघि बढेको छ। सञ्चय कोष र साविकको गोश्वारा हुलाकको बीचमा ८ फुटे अस्थायी पैदल मार्ग निर्माण हुनेछ। पछि यहाँ स्थायी सडक बन्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।