काठमाडौं- नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडी खेलमा सहभागी हुने खेलाडीहरुको अन्तिम छनोटका लागि आउँदो २४ र २५ गते नवौँ एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ।
छनोटमा १ सय ५० पुरुष र १ सय महिला गरी २ सय ५० खेलाडीको सहभागिता रहने छ। पुरुष/महिलामा समान १४/१४ गरी २८ स्पर्धामा प्रतिस्पर्धा हुने छ। १६ पुरुष र १२ महिला गरी २८ खेलाडी छनोट गरिने बताइएको छ।
प्रतियोगितामा पुरुष/महिलातर्फ ५० मिटर, १ सय मिटर, २ सय मिटर र ४ सय मिटर फ्रिस्टायल यस्तै ५०, १ सय र २ सय मिटर ब्रेस्टस्ट्रोक, वटरफ्लाई र व्याकस्ट्रोक तथा २ सय मिटर इन्डिभिज्युल मिड्ले इभेन्टहरु सञ्चालन हुने छन्। खेलाडी छनोट फिना अंक आधारमा गरिने छ।
छनोट बाहेक उमेरसमूहका खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ वर्ष मुनि उमेरसमूहको छुट्टै प्रतिस्पर्धा समेत हुनेछ।
प्रतियोगितालाई व्यवस्थित एवं भब्य रुपमा सम्पन्न गर्न नेपाल पौडी संघले संघका कोषाध्यक्ष नाजिर उद्दिन मुस्लिमको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति गठन गरेको छ।
चीन सरकारको सहयोगमा मर्मत सम्भार पश्चात सातदोबाटोस्थित पौडी पोखरीमा पहिलो पटक हुन लागेको उक्त प्रतियोगिता निकै भब्य र व्यवस्थित हुने संयोजक मुस्लिमले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।