काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सबै सहकारी संस्थाहरु उत्पादनमा आबद्ध हुनुपर्ने गरी राज्यले नीति लिन लागेको बताएकी छन्।
नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को नवौं स्थापना दिवसका अवसरमा बोल्दै मन्त्री अर्यालले एक सहकारी एक उत्पादनका क्षेत्रमा काम गर्ने गरी सरकारले नयाँ व्यवस्था लागू गर्ने तयारी गरिरहेको जानकारी गराइन्। एउटा सहकारी एउटा उत्पादनमा आबद्ध हुने तथा एउटा पालिकामा एउटा उत्पादनमूलक फर्म खोल्नका लागि पहल गरिने उनको भनाइ छ।
‘एउटा सहकारीमा एउटा उत्पादन र एउटा पालिकामा एउटा उत्पादन फर्म बनाउने विषयमा अब सहकारी अभियान लाग्नु जरुरी छ। मन्त्री आफैबाट यो कामको सुरुवात गर्नुपर्छ भनेर यो वर्ष नै ३० हजार वटा कागतीका बोट रोप्न लगाएको छु,' उनले भनिन्, 'जग्गा एकीकरण गरेर, चाक्लाबन्दी गरेर १५ हजार बोट कागती रोपिसकेका छौं।’
राष्ट्रिय सहकारी महासंघ, विषयगत संघहरु लगायत सहकारी अभियन्ताहरुले सहकारी संस्थाहरुलाई कसरी उत्पादनसँग जोड्न सकिन्छ भनेर सरकारलाई सुझाव दिनुपर्ने पनि मन्त्री अर्यालको भनाइ छ।
‘सबै सहकारी अभियन्ताहरुसँग छलफल गर्छौं। अब उत्पादनसँग कसरी जोडिने भनेर उहाँहरुले पनि हामीलाई भन्नुहुन्छ। एउटा सहकारी एउटा उत्पादन क्षेत्रसँग जोडिने गरी सहकारीकर्मीलाई मन्त्रालयले होमवर्क दिएर पठाउँछ,’ मन्त्री अर्यालले भनिन्।
सहकारी शिक्षालाई पाठ्यक्रममा नै राख्नेगरी त्रिभुवन विश्वविद्यालयसँग मन्त्रालयले समन्वय गरिरहेको पनि मन्त्री अर्यालको भनाइ छ। त्रिभुवन विश्वविद्यालयले सहकारी सम्बन्धी पाठ्यक्रम तयार पारिरहेको समेत उनले जानकारी दिइन्।
सहकारी क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुका लागि नेपाल सहकारी पत्रकार समाजले हरेक वर्ष प्रदान गर्दै आएको ‘सिजेएन राष्ट्रिय सहकारी पुरस्कार’ यस वर्ष पत्रकार शोभित थपलियालाई प्रदान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।