काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले ‘प्रतिक्रियावादी शक्ति’ आफूहरुविरुद्ध संगठित भएर लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
पछिल्लो समय ‘संघीयता र गणतन्त्र खतरामा परेको’ भन्दै विशेषगरी सत्तारुढ नेकपाकै नेताहरुले शृंखलाबद्ध अभिव्यिक्ति दिइरहेका छन्।
बिहीबार ललितपुरमा नेकपाको विदेश मामिला विभागले आयोजना गरेको कार्यक्रममा पनि उनीहरुले त्यस्तै आशयका प्रतिक्रिया दिएका हुन्।
कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनकै शब्दमा प्रतिक्रियावादी र कम्युनिस्ट विरोधीले संविधान र संघीयतामाथि नै प्रश्न उठाउन थालको भन्दै असन्तुष्टि पोखे।
‘थोरै हाम्रो कमजोरीलाई प्रतिक्रियावादीहरुले अतिरञ्जित गर्ने र टाउको उठाउने जर्मको गरेको हामी यदाकदा हेर्छौ, सुन्छौं र देख्छौ,’ प्रचण्डको भनाइ छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि पनि प्रश्न उठाउने दुस्साहास केही मान्छेले गरेको पनि हामीले आजभोली देख्ने गरेका छौं।’
प्रचण्डले प्रतिक्रियावादी र कम्युनिस्ट विरोधी को हुन् र कसरी उनले भनेजस्तै सडयन्त्र गरेका छन् भन्नेबारे भने केही खुलाएनन्।
उनले पार्टी एकता प्रक्रिया सम्पन्न गर्न ढिला हुँदा पनि कम्युनिस्ट विरोधीहरुले सरकार र पाटीविरुद्ध गलत प्रचार गरेर बद्नाम गराउने मौका पाएको टिप्पणी गरे। अब योजना बनाएरै पार्टीको सिंगो पंक्तिलाई विरोधीका भ्रम चिर्न देशव्यापी परिचालन गर्ने उनले बताए।
पार्टीको विदेश विभागले अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा कम्युनिस्ट पार्टीले शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट विश्वमै सबैभन्दा ठूलो जनमत प्राप्त गरेको सन्देश प्रवाह गर्नुपर्ने प्रचण्डले बताए।
कार्यक्रममा नेकपा विरिष्ठ नेता माधकुमार नेपालले पनि प्रचण्डको जस्तै धारणा राखे। उनले संसारमा प्रतिक्रियावादी समूह सक्रिय भएको भन्दै ती कम्युनिस्ट विरुद्ध पनि लागेको बताए।
‘संसारमा प्रतिक्रियावादी समूह सक्रिय छन्,’ नेकपाको विदेश मामिला विभागको जिम्मेवारी सम्हाल्दै नतो नेपालले भने, ‘ती शक्तिहरु कम्युनिस्टहरुका विरुद्धमा विश्वव्यापी अभियानमा पनि लागेका छन्। यी सबैको बिषयमा हामीले कुन किसिमको वेदेशिक नीति सञ्चालन गर्ने भन्ने चुनौती छ।’
केही दिनअिघ प्रधानमन्त्रीसमेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले पनि सत्ता सम्हालेयता पहिलोपटक बालुटारमा बोलाएको सर्वदलीय बैठकमा गणतन्त्र खतरामा परेको भन्दै छलफल चलाएका थिए।
३ भदौंमा बोलाएको बैठकमा गणतन्त्र र संघीयता नै खतरामा पार्न खोजिएको भन्दै सबै दल मिलेर जानुपर्ने प्रस्ताव ओलीले राखेका थिए।
विदेश विभागको जिम्मेवारी हस्तान्तरण
कार्यक्रममा नेकपाको विदेश मामिला विभागको जिम्मेवारी पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले सम्हालेका छन्।
पूर्व माओवादीको पार्टीमा विदेश विभाग प्रमुख रहेका नेता नारायाणकाजी श्रेष्ठले नेता नेपाललाई विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेका थिए। विभागमा दुई उप्रमुख राम कार्की र विष्णु रिजाल छन्। ३५ जनासम्म रहने विभागमा सदस्य नियुक्त हुन भने बाँकी छन्।
विदेश विभागको जिम्मेवारी सम्हालदै नेता नेपालले अहिले तीन जनाले काम गर्ने र विभागमा रहेन बाँकी सदस्य पनि चाँडै नियुक्त गर्ने बताए।
उनले पार्टी र सरकारलई सुझाव दिन विदेश विभागको जिम्मेवारी महत्वपूर्ण रहने बताए।
‘पार्टी र सकारलाई आवश्यक सल्लाहा, सुझाव दिनका लागि यो विभागको महत्व हुन्छ,’ उनले भने, ‘हामी यसको नियमित प्रकाशन पनि निकाल्ने छौं। अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण पनि गर्ने छौं। पार्टीले चाहेको, खाजेको निष्कर्षलाई दिन सक्ने छौं।’
तीन तहको सम्बन्ध
नेता नेपालले नेकपाले अन्तर्राष्ट्रिय पार्टीहरुसँग तीन तहको सम्बन्ध राख्ने बताए। त्यो सम्बन्ध भाइचारा, मित्रतापूर्ण र औपचारिक हुने उनको भनाइ छ।
‘हामीले अन्तर्राष्ट्रिय क्षेत्रमा कम्युनिस्ट पार्टीहरुसँग भाइचारा सम्बन्ध राख्ने गर्द छौं,’ उनले भने, ‘कतिपयसँग मित्रतापूर्ण सम्बन्ध राख्ने गर्दछौं। कतिपयसँग हामी औपचारिक सम्बन्ध पनि राख्ने गर्दछौं।’
अहिलेको विश्व परिस्थिति प्रतिकूल रहेको भन्दै उनले प्रतिकुलताका बीचमा पनि नेपालले सफलता हाँसिल गरेको दाबी गरे। देशको स्वतन्त्रता, स्वाभिमान र भौगौलिक एकतालाई पक्षलाई विर्सेर अघि बढ्न नसकिने उनको विश्लेषण छ।
‘यी सबै सन्दर्भमा हामीले विश्व परिस्थितिको अध्यन गर्नुपर्छ,’ उनको भनाइ छ, ‘महादेशको पनि अध्यन गर्नुपर्छ। हाम्रा छिमेकीको हाम्रो सम्बन्धका बारेमा राम्रो ढंगले अध्यन गर्नुपर्दछ।’
विदेश नीतिले देशको हकहित र सुरक्षा गर्न सक्नुपर्ने भन्दै उलने यो गृह नीतिको विस्तार भएको बताए।
नेपालको शान्ति प्रक्रिया विश्वकै निम्ति सिक्न लायक कुरा भएको भन्दै विश्वमा शान्ति स्थापनामा पनि नेपालले गौरवपूर्ण भूमिका खेलेको बताए।
‘विश्वमा शान्ति स्थापनका लागि हाम्रा सेना वा प्रहरीले गएर खेलेका भूमिकाले पनि हाम्रो ख्याती बढाएको छ,’ उनको भनाइ छ, ‘त्यो म आफैले देखेको छु।’
उनले सैन्य बलबाट लड्न नसके पनि कूटनीतिक चार्तुयता र कुशलता देखाएर देशको रक्षा गर्न सकिने बताए।
‘अवश्य पनि हाम्रो देशको रक्षाका लागि सैन्य शक्ति मात्रै काफी हुँदैन,’ उनको भनाइ छ, ‘विज्ञान र प्रविधिमा पनि हामी अरुलाई चुनौती दिने अवस्थामा पुगेका छैनौं। कूटनीतिक चार्तुयता, कुशलता कति मात्रमा देखाउन सक्द छौं त्यो हाम्रो शक्ति हुनसक्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।