काठमाडौं- प्रतिनिधिसभाको विकास समितिको बैठकमा खानेपानीसम्बन्धी सबै काम गर्न खानेपानी प्राधिकरण स्थापना गर्नुपर्ने माग उठेको छ।
विकास तथा प्रविधि समितिको बैठकमा नेपाली कांग्रेसका सांसद राजन केसीले खानेपानीसम्बन्धी काम गर्ने सबै कार्यालयलाई मिलाएर खानेपानी प्राधिकरण गठन गर्न माग गरेका हुन्।
काठमाडौँ उपत्यकालगायत अधिकांश शहरमा खानेपानीसम्बन्धी काम गर्न भिन्नभिन्न कार्यालयहरु भएकोले जनताले दुःख पाएको भन्दै सांसद केसीले काममा एकरुपता ल्याउन प्राधिकरण गठन गर्नुपर्ने धारणा राखेका हुन्।
विकास समितिको बैठकमा खानेपानी तथा सरसफाई मन्त्रालयले संसदमा पेस गरेको खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल भइरहेको छ।
छलफलमा सांसद केसीले खानेपानीको मुहान संरक्षण गर्न स्थानीय उपभोक्तालाई अधिकार दिन नहुने पनि बताए।
यस्तै समितिमा राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्र राय यादवले खानेपानीका निर्माण संरचना लामो समय किन निर्माण सम्पन्न हुन नसकेको भन्दै प्रश्न गरेका हुन्। बैठकमा उपस्थित हुनुभएको खानेपानी तथा सरसफाई मन्त्रि बीना मगरलाई संकेत गर्दै सांसद यादवले बर्सेनि बजेट पनि छुट्टिने तर निर्माण सम्पन्न नहुने के भएको भनि स्पष्ट पार्न आग्रह गरे।
नेपाल सरकारले स्वच्छ तथा गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवा प्राप्त गने नागरिकको मौलिक अधिकारको सम्मान, संरक्षण र परिपूर्ति गरी स्वच्छ तथा गुणस्तरीय खानेपानी र सरसफाइ सेवा सहज रुपमा उपलब्ध गराउन र ढल निकास र फोहोरपानीको व्यवस्थापन गने भन्दै पहिलो पटक खानेपानी तथा सरसफाइ सम्बन्धमा विधेयक बनाई सदनमा पेश गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।