काठमाडौं- नेपाली काांग्रेसले दोश्रो चरणको जागरण अभियान सञ्चालन गर्ने अन्तिम तयारी गर्दैगर्दा तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले पार्टीको कार्यशैलीप्रति आपत्ति जनाएका छन्।
पार्टीका मुख्य दुई संगठनलाई मुल नेतृत्वले बेवास्ता गरेको उनले आरोप लगाए। अहिले नेविसंघको कार्यसमिति भंग गरिएको छ भने तरुण दल ४ जनामा सिमित छ।
पार्टीलाई शशक्त बनाउने कार्यमा महत्वपूर्ण दुई संगठनलाई बेवास्ता गरी सञ्चालन गरिएको जागरण अभियानको औचित्य नहुने शाहीको दाबी छ। नेपाल लाइभसँग शाहीले भने, ‘भ्रातृसंस्थाका केन्द्रिय समिति विस्तारसम्म गर्न नसक्ने गैरजिम्मेवार नेतृत्वबाट पार्टी जागरणको डङ्का मात्र फुक्नुको कुनै औचित्य छैन।’
तरुण दललाई ४ जनामा सिमित राख्नु र नेविसंघलाई शून्यमा राख्नु लोकतान्त्रिक पार्टीको लागि लाजमर्दो विषय भएको उनको भनाइ छ। केन्द्रलाई जागरण गर्न नसक्ने पार्टीका नेताहरूले गाँउमा गई जागरण गर्छु भन्नु नौटङ्की भएको उनको ठहर छ। उनले भने, ‘भातृ संस्थालाई बेहाल पार्ने र युवाहरुको भविष्यलाइ चौपट पार्नु पार्टीको लाचारीपन हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।