इलाम- इलाममा दुई कृतिको एकसाथ विमोचन गरिएको छ।
डा देवी क्षेत्री दुलालद्वारा लिखित नाटक ‘काले दमाई’ र बालिका थपलियाको कविता संग्रह ‘प्रणयपथ’ शुक्रबार एकसाथ विमोचन गरिएको हो। प्राडा गोविन्दराज भट्टराईले दुवै कृतिको विमोचन गरे।
पुस्तकमाथि बोल्दै प्राडा भट्टराईले नाटकले इतिहासलाई जीवन्त बनाएको चर्चा गरे। उनले अब साहित्यमा निमुखा, सीमान्तकृत र दु:खीहरुको अध्ययन जरुरी रहेकोमा जोड दिए।
थपलियाको भाषाको प्रशंसा गर्दै उनले संग्रहका कविताले प्रेमको गहिरो अनुभूति गराउने बताए।
दुवै कृतिका बारेमा रविमान लम्जेलले टिप्पणी गरेका थिए।
दुलालको यो १८औं कृति हो भने थपलियाको पहिलो कविता संग्रह।
नाटकमा दुलालले नेपाली राणाकालीन समयका इलामे समाजसेवी काले दमाईको जीवनीलाई प्रस्तुत गरेका छन्। थपलियाको संग्रहमा भने प्रेम कविताको बाहुल्य छ। उनले मानवीय सम्बन्धलाई पनि कवितामा अटाएकी छन्।
कार्यक्रममा दुलालले नाटकको संवाद सुनाए भने थपलियाले ‘अक्षरको अंकुरण’ कविता वाचन गरिन्। कार्यक्रम चेतना नाट्य समूहले आयोजना गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।