सम्पन्न परिवारकी डाक्टर नै महिलाहिंसाको सिकार, सम्बन्ध विच्छेद गर्न दाइजोको कार बाधक

  न्यायका लागि जिल्ला हुँदै सर्वोच्च अदालतसम्म
दुर्गा दुलाल | २०७६ भदौ २१ शनिबार | Saturday, September 07, 2019 १९:१८:०० मा प्रकाशित

प्रतीकात्मक तस्बिर


काठमाडौं- महिला हिंसाका घटना गाउँ र दुरदराजबाट सार्वजनिक हुन नसकेको भन्दै सरकार र नीजि क्षेत्रले जनचेतनाका कार्यक्रम चलाइरहेका छन्। तर राजधानी काठमाडौंमा रहेकी एक महिला डाक्टर नै वर्षौंदेखि महिला हिंसाको सिकार भएर अदालत धाइरहेकी छन्। 

नेपाली सेनामा डाक्टरको रूपमा कार्यरत डा कार्की सम्पन्न परिवारकी सदस्य हुन्। सम्पन्न परिवारबाटै हिंसा भएपछि उनी अहिले अदालत धाइरहेकी छन्। जिल्ला अदालतबाट सुरु भएको उनको अदालत यात्रा सर्वोच्चसम्म अझै जारी छ। डा कार्की पतिसँग बस्न नसक्ने अवस्था भएपछि सम्बन्ध विच्छेदको माग गर्दै अदालत धाइरहेकी हुन्। वीरेन्द्र सैनिक अस्पताल (छाउनी)मा कार्यरत उनको दैनिकी अहिले सर्वोच्च र जिल्ला अदालत धाउँदैमा बित्ने गरेको छ। 

उनको काठमाडौंको सम्पन्न परिवारका भाष्करसिंह कार्कीका साथ विवाह भएको थियो।

काठमाडौंमै जन्मिएर यतै हुर्किएकी उनी विवाहपछिका केही वर्षमै उक्त परिवारबाट घरेलु हिंसा भोग्न थालेको बताउँछिन्।

विवाहपछिको केही समय सहजै व्यतीत गरेकी उनले एक सन्तान पनि जन्माइन्। तर घरेलु हिंसाका घटना निरन्तर जारी रहेपछि उनी अलग्गै बस्न पाउँ भन्ने माग गर्दै अदालत धाउन थालेकी हुन्। 

यस्तो थियो घटना 
काठमाडौंको रायमाझी परिवारमा जन्मेकी उनलाई विवाहअघि सम्म परिवारले कुनै अभाव हुन दिएको थिएन।

सम्पन्न परिवारमा हुर्केकी उनको पढाइ पनि अब्बल थियो। चिकित्सा शिक्षा अध्ययन समाप्त गरी अभ्यासका क्रममा वीरेन्द्र सैनिक अस्पतालमा काम गर्न थालेकी थिइन्। सम्पन्न परिवारबाट विवाहका लागि उनलाई माग्न आइरहेका थिए।

काठमाडौंको सम्पन्न परिवारको भएकाले विवाहका लागि रायमाझी परिवारले विवाह गर्न उनलाई दबाव दियो।

इच्छा नहुँदा-नहुँदै विवाह 
२०६५ साल असोजतिर उनलाई विराटनगर स्थायी घर भएका कार्की परिवारबाट विवाहको प्रस्ताव आयो।

सडक विभागका पूर्व प्रमुख एवम् सिनियर इन्जिनियर रहेका डम्बरसिंह कार्कीको परिबारवाट विवाहको प्रस्ताव आएको थियो।

कार्कीका कान्छा छोरा भाष्करसिंह कार्कीका लागि उनलाई परिवारले स्वीकार गर्न दबाब दियो।

भाष्करले अमेरिका पढेका र सडक विभागको प्रमुखको परिवार भएको भन्दै रायमाझी परिवारले उनलाई दबाब दिएको थियो। परिवारले पटक-पटक दबाब दिएपछि उनी अस्वीकार गर्न नसक्ने अवस्थामा पुगिन्। २०६५ साल मंसिर १७ गते उनीहरुको विवाह भव्य रुपमा सम्पन्न भएको थियो। 

विवाहमा रायमाझी परिवारले दाइजोमा कार समेत उपहार दिएका थिए। विवाहपछि डा कार्कीले पति र परिवारबाट हिंसाका घटना भोग्न थालिन्। ‘सार्वजनिक गरौं भने दुवै परिवारको इज्जतको कुरा आयो,’ उनले सम्झना गरिन्, ‘तर म विवाहको ‍केही समयपछि नै विरक्तिन थालेकी थिएँ।’  

माइतमा आमा र बुबालाई यो कुरा भन्दासमेत सुनुवाई नभएपछि उनी चुपचाप सहन बाध्य भइन्। २०६७ सालमा उनीहरूको सम्बन्धबाट छोरीको जन्म भयो। सुरुमा बच्चा जन्माउनकै लागि परिवारले हिंसा गरेको सम्झेर बच्चा जन्मिएपछि आफू ढुक्क हुने उनले सोचेकी थिइन्  तर छोरीको जन्मपछि पनि हिंसाका घटना रोकिएनन्। बरु अझ बढ्न पो थाल्यो। 

‘उसँग सम्बन्धमा रहँदा मलाई कुट्ने, जागिर खोसिदिने धम्की धेरै पटक दियो,’ उनले अदालतमा दायर गरेको मुद्दा उल्लेख गरिकी छन्, ‘ममाथि शारीरिक र मानसिक पीडा दिने कार्य धेरै भयो।’ २०७३ सालमा सालमा उनी सम्बन्ध विच्छेद गर्ने निष्कर्षमा पुगिन्। २०७३ सालमा जिल्ला अदालत काठमाडौंमा अंशमुद्दा र सम्बन्ध विच्छेद माग गर्दै मुद्दा दायर गरिन्। उक्त मुद्दामा २०७४ फागुन  ३ गते तीन भागको एक भाग छुट्याई त्यसबाट एक भाग पाउने फैसला गर्‍यो।  जिल्ला अदालतमा मुद्दा दायर गर्दा आफ्नै कानुन व्यवसायीले समेत फसाएको उनले बताइन्। 

'वकिलले छोरी नै गायव पारिदिए'
जिल्ला अदालतमा मुद्दा दायर हुँदा उनले आफ्ना कानुन व्यवसायीलाई छोरी र आफ्नो हकमा अंश दाबी हुने गरी मुद्दा लड्ने जिम्मेवारी दिएकी थिइन्। तर जिल्ला अदालतमा मुद्दा दर्ता हुँदा वकिलले छोरीको नाम नै गायव पारिदिएका छन्। 

‘जिल्ला अदालतले ख्यालै नगरेर र मैले पनि कुनै होस नै नगर्दा तीन भाग मध्येको एक भाग भनी मेरो अंश पाउने फैसला भयो। तर, छोरीको रेखदेखको कुरा अदालतले उल्लेख गरेन,’ उनले भनिन्, ‘त्यसविरुद्ध फेरि म अदालत धाउन बाध्य भएँ।’ उनले पुनः २०७४ मंसिर १४ गते जिल्ला अदालतमा अर्को मुद्दा दायर गरिन्। 

डा कार्कीविरुद्ध उनकै परिवारका अन्य सदस्य भने उच्च अदालत पुगे। उच्च अदालत पाटनले २०७४ कात्तिक २४ गते सुरुको फैसला केही उल्ट्याइदियो। उच्चले तीन भागको एक भाग अंश पाउनुका साथै ऋण समेत भागबन्डा हुने फैसला सुनायो।  उच्चले पनि छोरीका विषयमा केही पनि नबोलेपछि डा कार्कीले भाष्करसिंह कार्कीलाई विपक्षी बनाउँदै छोरीको नाममा संरक्षकको दायित्व अन्तर्गत फिरादपत्र लिएर पुनः जिल्ला अदालत पुगिन्। उक्त फिरादमा २०७५ फागुन १४ गते न्यायाधीश पुष्पराज थपलियाले फैसला गर्दै बाबुले पाउने अंशबाट डा कार्कीको नाममा गरेपछि बाँकी रहनेबाट आधा पाउने र ऋण पनि भागमा आउने  फैसला गरेको थियो। 

जिल्ला अदालतको यो फैसलापछि कार्की परिवार पुनः निराश बन्यो। 

छोरीलाई अंश दिनुपर्ने मुद्दा दायर भएपछि अंश दिन आनाकानी गर्न भाष्करसिंह कार्की पनि पुनः जिल्ला अदालत पुगे। उनले छोरीलाई भेट्न र साथमा नै राख्न पाउनुपर्ने माग गर्दै अर्को मुद्दा दायर गरे। २०७४ पुसमा आफूलाई जिल्ला अदालतले सम्बन्ध विच्छेद हुँदा प्रत्येक शुक्रबार तेस्रो पक्षको रोहवरमा हप्ताको तीन घन्टा छोरी भेट्न पाउने  फैसला भएको तर डा कार्कीले त्यसको कार्यान्वयन नगरेको जिकिर गर्दै मुद्दा दायर गरे। जिल्लाले भेट्ने व्यवस्था मिलाउन जिल्ला अदालतले यसअघि गरेको फैसला सदर गर्ने फैसला सुनायो। यो मुद्दा जिल्ला हुँदै पाटन उच्च अदालतसम्म पुग्यो। 

पाटन उच्च अदालतले २०७५ बैशाख १३ गते उक्त निवेदनमा एक आदेश गर्‍यो। डा कार्की दम्पतीकी छोरी अध्ययन गर्ने विद्यालयमा कम्तीमा प्रत्येक शुक्रबार विद्यालयले तोकेको शिक्षकको रोहोवरमा डा कार्कीले भेट्ने व्यवस्था मिलाउन आदेश गर्‍यो। त्यसविरुद्ध भाष्करसिंह कार्की सर्वोच्च अदालत पुगे। सर्वोच्चले २०७५ असार २५ गते फैसला सुनाउँदै उच्च अदालतले गरेको आदेश सदर गर्ने निर्णय गरेको छ। 

सम्बन्ध विच्छेद गरी अंश लिन बाधक दाइजोको कार
जिल्ला हुँदै उच्च अदालतबाट मुद्दा जितेपछि डा कार्कीमाथि अर्को मुद्दा थपियो, दाइजोका कार। अंशबण्डा नभएकोले भाग सो कार पनि भाग लगाउनुपर्ने। 

जिल्ला र उच्च अदालतसम्म मौन रहेको उक्त विषय लिएर भाष्करसिंह कार्की सर्वोच्च पुगेका थिए। २०७५ जेठ ६ गते भाष्करले डा कार्की चढ्दै आएको ‘किया रियो सेडान’ कार सगोलकै सम्पत्ति भएकोले अंशबण्डा हुनुपर्ने दाबी गर्दै सर्वोच्चमा मुद्दा दायर गरे। यसले जिल्ला र उच्च अदालतको फैसला कार्यान्वयन रोकिएको छ। 

सर्वोच्च अदालतमा अंश मुद्दा नै बाँकी रहेको भन्दै कार्की परिवारले आफू र आफ्नो छोरीलाई अंक दिन अस्वीकार गर्दै आएको मुद्दाको पेसी लिन सर्वोच्च आएकी उनले बताइन्।

गत मंगलबार उनी सर्वोच्चमा मुद्दा हटाउने पक्षका कानुन व्यवसायीबाट दिक्क भएर निवेदन दिन सर्वोच्च पुगकी थिइन्। ‘बाबुले दाइजोमा दिएको कार अंश नै लाग्ने भए म तयार छु,’ सर्वोच्चमा मुद्दा पालो नआएपछि निराश देखिएकी उनले भनिन्, ‘तर सँधै एकपछि अर्को अदालत धाइरहँदा म थप यातना भोगिरहेको छु।’  

सँधै बिरामीसँग हातेमालो र घुलमिल गरिरहेकी उनी महिला हिंसाभन्दा अदालती न्यायका लागि भोग्नु परेको संर्घषदेखि आत्तिएकी छन्।

यी चार वर्षमा उनी जिल्ला, उच्च हुँदै सर्वोच्चमा दर्जनौं पटक पुगेकी छन्। न्यायाधीश, वकिल र फाँटवालासँग पटकपटक वादविवाद हुन्छ। अदालतमा वषौं लाग्ने र त्यहाँ हुने चलखेलले उनलाई झनै यातना दिइरहेको छ।

‘मैले स्वतन्त्रतापूर्वक बाँच्ने चाहना गर्दासमेत पाइरहेकी छैन,’ उनले भनिन्, ‘अदालतबाट मुद्दा टुङ्गिएमा म छोरीलाई नयाँ जिन्दगी दिएर बस्थेँ।’