काठमाडौं- एसिसी यू-१९ एसिया कपमा नेपालले बंगलादेशलाई २ सय ६२ रनको लक्ष्य दिएको छ। टस जितेको बंगलादेशले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा २ सय ६१ रन जोड्न सफल भएको हो। प्रतियोगितामा यो नेपालको दोस्रो खेल हो।
नेपालका लागि पवन सर्राफले सर्वाधिक ८१ रन जोडे। ओपनिङमा आएका उनले १ सय ११ बलमा ८ चौका र १ छक्का हिर्काएका थिए। अर्का ओपनर रित गौतमले ३२ रनको योगदान दिए।
मोहमद आसिफ शेख भने ३ रनमै आउट भएका थिए। कुशल मल्लले ३२ बलमा २८ रन जोड्ने क्रममा १ चौका र ३ छक्क प्रहार गरे। कप्तान रोहितकुमार पौडेल १४ रनमै आउट भएका थिए। मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे। उनले ३७ बलमा ५६ रन जोड्ने क्रममा ३ चौका र ३ छक्का प्रहार गरे।
भीम सार्कीले १९ बलमा २१ रनको योगदान दिए। रासिद खानले ६ रन र कमलसिंह ऐरीले नटआउट ९ रन जोडे।
बलिङमा बंगलादेशका रकिबुल हसन र मोहमद एलोमले २/२ विकेट र मोहमज मृत्युन्जय, मिनहुजर रहमन र ताहिद रिदोयले १/१ विकेट लिए। अहिले बंगलादेशले ब्याटिङ गरिरहेको छ।
यसअघि नेपाल पहिलो खेलमा आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।