न्युयोर्क- युएस ओपन टेनिसको पुरुषतर्फको उपाधि राफेल नाडालले जितेका छन्। न्युयोर्कको फ्लसिङ मिडोजमा भएको प्रतिस्पर्धात्मक खेलमा नाडालले विश्व नम्बर ५ रसियाली खेलाडी डानिल मेदभेदेभलाई पाखा लगाएका हुन्।
विश्व नम्बर २ खेलाडी नाडालले ७-५, ६-३, ५-७, ४-६ र ६-४ ले खेल आफ्नो पक्षमा पारेका थिए।
नाडालको यो १९औं ग्रान्डस्लाम उपाधि हो। पहिलो ग्रान्डस्लाम जित्ने सोचमा रहेका मेदभेदेभको भने सपना भने पूरा हुन सकेन।
यसअघि क्यानडाकी १९ वर्षीया किशोरी बायना एन्ड्रेस्कुले महिलातर्फको उपाधि हात पारेकी थिइन्। बायनाको यो जितसँगै ३८ वर्षीया विश्वविख्यात टेनिस खेलाडी सेरेना विलियम्सको पाँचौंपटक युएस ओपनको उपाधि जित्ने सपना अधुरै रह्यो।
सेरेनाभन्दा आधा उमेरकी बायनाले आइतबार न्युयोर्कस्थित आर्थर एस रंगशालाको फ्लसिङ मिडोजमा खेलिएको उक्त ग्रान्डस्लाम प्रतियोगिता ६–३, ७–५ को सोझो सेटमा जितिन्। बायनाको यो पहिलो ग्रान्डस्लाम उपाधि हो। क्यानडाकी कुनै किशोरीले ग्रान्डस्लाम जितेको यो पहिलो अवसर पनि हो।
सेरेना विलियम्सले फ्लसिङ मिडोजको फाइनल हारेको यो लगातार दोस्रो वर्ष हो। सन् २०१८ को प्रतियोगितामा जापानकी नाओमी ओसाकासँग सेरेना पराजित भएकी थिइन्। सेरेनाले दुई वर्षअघि टेनिस खेलमा पुनरागमन गरेकी थिइन्। सेरेनाले हालसम्म २३ वटा ग्रान्डस्लाम उपाधि जितिसकेकी छिन्।
खेलमा पराजित भएपछि बोल्दै सेरेनाले आफू रेकर्ड बनाउनकै लागि नखेलिरहेको स्पष्ट पारिन्। उनले भनिन्, 'आजको खेलमा मैले राम्रो खेल्न सकिनँ। मैले अझ राम्रो खेल्न सक्थें।'
विजयी एन्ड्रेस्कुले सेरेनासँग टेनिस खेल्न पाउनु आफ्ना लागि अहोभाग्य रहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।