काठमाडौं- काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसन र स्विस संघीय प्रविधि अध्ययन संस्थानको सहकार्यमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ।
भाद्र २५ र २६ गते धुलिखेलमा हुने उक्त सम्मेलनमा विश्वका ६ महादेशका २ सयभन्दा बढी विज्ञ, प्राज्ञ तथा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम क्षेत्रका व्यक्तिको सहभागिता रहने छ।
सम्मेलनमा रोजगारी, आम्दानी तथा कामको गुणस्तरका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका विषयमा छलफल हुने बताइएको छ।
युरोपियन युनियनको आर्थिक सहयोग रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) अन्तर्गतको सक्षमता कार्यक्रम र नेपाल उद्योग वाणिज्य महासंघको पनि सहयोग रहेको छ।
युवा रोजगारीका क्षेत्रमा विद्यमान चुनौती र अवसरबारे प्रकाश पार्न तथा प्राविधिक व्यावसायिक शिक्षा र तालिमका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरम प्रदान गर्नेलगायतका विशिष्ट उद्देश्यका साथ सम्मलेन आयोजना गरिएको काठमाण्डौ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डिन प्रा डा महेशनाथ पराजुलीले बताएका छन्।
सम्मेलनमा चार मुख्य कार्यपत्रहरू, ८२ कार्यपत्रहरू, तीनवटा कार्यशालाहरू समेटिने आयोजकले जानकारी दिएको छ।
कार्यपत्र प्रस्तुतिका मुख्य विषयहरु प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालीम अन्तर्गतका नीतिनिर्माण, योजना तर्जुमा तथा अभ्यास, संस्था तथा प्रणाली, सुशासन तया अख्तियारी विभाजन, लागत-लाभ विश्लेषण, वित्त र वित्तीय विभाजन, सिकाइ र शिक्षण, गुणस्तरियता, समता र सान्दर्भिकता, राष्ट्रिय तया अन्तर्राष्ट्रिय अवस्था अध्ययन, रोजगारी, शिक्षा र तालीम, व्यवसाय तया व्यावसायिक क्षेत्रहरू, प्राविधिक व्यावसायिक शिक्षा तथा तालीम र विकास, प्राविधिक व्यावसायिक शिक्षा र तालीमको समाजशास्त्र र समावेशिता रहका छन्।
मुख्य कार्यपत्रप्रस्तुत गर्नुहुनेहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राज्ञहरूमा अमेरिकाको कोलोराडोबाट करियरवाइज तथा इन्टरटेक प्लास्टिकका संस्थापक सिइओ नोयल गिन्जबर्ग; काठमाण्डौ विश्वविद्यालय स्कुल अफ एजुकेशनका पूर्व डिन प्रा टंकनाथ शर्मा, तुलनात्मक शिक्षा पद्धति ज्युरिच, स्विजरल्याण्डका प्रमुख डा उर्सुला रेनोल्ड, संघीय राज्य माइक्रोनेसियाको शिक्षा विभागका कामु सचिव वाएने मेन्डिओला रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।