चितवन- कालिका एफएम प्रालिले १७औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने भएको छ। २०५९ सालमा चितवनबाट प्रशारण थालेको एफएमले सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरेर वार्षिकोत्सवको अवसरमा करिब एक महिनासम्म आयोजना गरिने कार्यक्रमको तालिका सार्वजनिक गरेको हो।
वार्षिकोत्सवको सबैभन्दा आकर्षण र महत्त्वपूर्ण पाटो रहँदै आएको प्रतिष्ठित म्युजिक अर्वाड र सांस्कृतिक कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको कालिका मिडिया ग्रुपका अध्यक्ष एवम् प्रबन्ध निर्देशक विक्रम पाण्डेले जानकारी दिए।
पूर्व वन तथा भूमिसुधार मन्त्रीसमेतख रहेका पाण्डेका अनुसार म्युजिक अवार्डमा ३० वटा विधामा गीतसंगीतलाई नोमिनेसनमा राखिनेछ। नोमिनेसनमा राष्ट्रिय तथा स्थानीय स्तरका सर्जक तथा कलाकारहरूलाई छनोट गरिनेछ।
असोज १ गतेदेखि सुरू हुने वार्षिकोत्सव कार्यक्रमको पहिलो दिन देवघाटमा रहेका वृद्धवृद्धालाई सम्मान गर्ने, स्वास्थ्य परीक्षण गराउने र खाना खुवाउने कार्यक्रम रहेको उनले जानकारी दिए।
असोज ३, ४ र ५ गते शिक्षक तथा प्राध्यापकहरूबीच फुटसल प्रतियोगिता, असोज ७ गते अन्तरसहकारी महिलाहरूबीच तथा असोज ९ गते अन्तर कृषक समूहबीचमा हाजिरीजवाफ प्रतियोगिता आयोजना हुनेछ। असोज ११ गते स्रष्टा, सिर्जना र संवाद, असोज १३ गते पञ्चेबाजा तथा सारङ्गी बाजा प्रतियोगिता, असोज १४ गते महिला हिंसा तथा चेलीबेटी बेचबिखनविरूद्ध सचेतनाका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको कालिका मिडिया ग्रुपका निर्देशक दीपक पौडेलले बताए।
पौडेलका अनुसार असोज १५ गते बृहत् लोकदोहोरी तथा विविध सांस्कृतिक महोत्सव, असोज १६ गते लागुऔषध प्रयोगकर्ताको अवस्था र यसको न्यूनीकरण विषयक अन्तरक्रियाको आयोजना हुनेछ। असोज १७ गते अन्तर कर्मचारीबीच खेलकुद प्रतियोगिता हुनेछ।
यस्तै, असोज २६ गते कालिका एफएम स्थापनाको १७औँ वार्षिकोत्सवको अवसरमा दिपावली कार्यक्रम गरिने र असोज ३० गते १५औँ कालिका म्युजिक अवार्ड तथा वार्षिकोत्सव कार्यक्रमलाई औपचारिक समापन गरिने निर्देशक पौडेलले जानकारी दिए।
कालिका एफएम प्रालिले मनोरञ्जनका लागि कालिका एफएम ९१ मेगाहर्जबाट निरन्तर गीतसंगीत प्रशारण गर्दै आएको छ। यसबाहेक कालिका मिडियाले विगत ५ वर्षदेखि टिभी कालिका एचडी र कालिका न्युज डटकमको रूपमा अनलाइन पत्रिकासमेत प्रकाशन गर्दै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।