जनकपुर- प्रदेश २ सरकारले तीन दिवसीय कार्यक्रम आयोजना गरी संविधान दिवस भव्यरुपमा मनाउने निर्णय गरेको छ।
प्रदेश २ को मन्त्रिपरिषद् बैठकले तीन दिने कार्यक्रम तय गरी धुमधामका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो।
प्रदेश २ को सत्ता साझेदार दल समाजवादी पार्टी संविधान दिवस मनाउन अघि सर्दा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले भने संविधान दिवसलाई कालो दिनका रुपमै मनाउने निर्णय गरिसकेको छ। प्रदेश २ सरकारले संविधान दिवस मनाउने निर्णय गरे पनि राजपाका कुनै पनि मन्त्री त्यसमा सरिक नहुने भएका छन्।
मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संविधान दिवसका अवसरमा पहिलो दिन असोज २ गते डेंगु रोगबाट बच्न र ड्रग्स नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम, दोस्रो दिन असोज ३ गते सरकारी कार्यालयमा दिपावली गर्ने र अन्तिम दिन असोज ४ गते सरसफाइ तथा वृक्षारोपण कार्यक्रम आयोजना गरिने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए।
मन्त्री यादवले भने, ‘नेपालको संविधानसँग पूर्णरुपले सन्तुष्ट नभए पनि संविधानले केही हकअधिकार प्रदान गरेको हुँदा भव्यताका साथ संविधान दिवस मनाउने निर्णय गरिएको हो।’
यता सरकारले मन्त्रिपरिषद्बाटै संविधान दिवस मनाउने निर्णय गरेपछि सत्तारुढ दलभित्रै मतभेद बढेको छ।
संविधानसभाबाट संविधान जारी भएपछि त्यतिबेला आन्दोलनमा रहेका मधेसवादी दलले विरोधस्वरुप संविधान जलाउने र तराई/मधेसमा ‘ब्ल्याक आउट’ भइरहँदा देशका अन्य भागमा दिपावली गरिएको थियो।
त्यतिबेला देखि मधेसवादी दलहरुले असोज ३ लाई कालो दिवसको रुपमा मनाउँदै आइरहेका छन्। मधेस आन्दोलनले उठाएका माग सम्बोधन नभएको भन्दै उनीहरुले संविधान संशोधनको माग पनि सँगै अघि सारिरहेका छन्।
मुख्यमन्त्री लालबाबु राउत नै संविधान दिवस मनाउन अघि सरेपछि सत्तारुढ दल दुई कित्तामा विभाजित भएका हुन्।
मुख्यमन्त्री राउतलगायत समाजवादी पार्टीबाट मन्त्री बनेकाहरु संविधान दिवस मनाउने पक्षमा छन् भने सत्ता सहयात्री राजपा नेपालका मन्त्री संविधान दिवसका दिन 'विरोध दिवस' मनाउने अडानमा छन्। राजपा नेपालले संविधान दिवसलाई विरोध दिवसकै रुपमा मनाउने निर्णय गरेपछि प्रदेश २ सरकारमा सहभागी राजपा नेपालका मन्त्रीसमेत पार्टीकै लाइनमा उभिने भएका छन्।
राजपा नेपालबाट सरकारको नेतृत्व गरिरहेका भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश २ सरकारले असोज ३ गते संविधान दिवस औपचारिक रुपमा मनाउनेबारे आफूलगायत राजपा नेपालका कुनै पनि मन्त्रीलाई जानकारी नभएको बताए।
सरकारले मन्त्रिपरिषद्बाट संविधान दिवस भव्यतापूर्वक मनाउने निर्णय गरेको दिन राजपा नेपालबाट मन्त्री बनेकाहरुको उपस्थिति नरहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।