चिनियाँ विदेशमन्त्रीले प्रचण्ड र देउवालाई भेट्दै, सोमबार कसरी बित्यो?

नेपाल लाइभ | २०७६ भदौ २४ मंगलबार | Tuesday, September 10, 2019 ०७:१६:०० मा प्रकाशित

काठमाडौं- चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्दैछन्।

विदेशमन्त्री वाङ चीन फर्किनुअघि मंगलबार नेकपा अध्यक्ष प्रचण्डसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणमा उनी ३ दिने नेपाल भ्रमणका लागि काठमाडौं उत्रिएका थिए। यसबीचमा उनले परराष्ट्रमन्त्री ज्ञवालीसँग द्विपक्षीय तथा प्रतिनिधमण्डलस्तरीय भेटवार्ता गरेका थिए। सो क्रममा चीन र नेपाल बीचमा ३ वटा सम्झौतामा हस्ताक्षरसमेत भएको थियो।

सोमबार साँझ विदेशमन्त्री वाङले प्रधानमन्त्री केपी शर्मा वलीसँग भेट गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण छिट्टै हुने विश्वास व्यक्त गरेका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङले उपयुक्त समयमा राष्ट्रपति सीको नेपाल भ्रमण हुने विश्वास दिलाएका थिए।

राष्ट्रपतिसँग भेटवार्ता
सोपश्चात् नेपालको औपचारिक भ्रमणमा रहेका वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा शिष्टाचार भेट गरेका थिए। त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो।

भेटमा विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यका साथै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालयका उच्च अधिकारीको उपस्थिति थियो।

चिनियाँ विदेशमन्त्रीको सम्मानमा रात्रिभोज
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना चिनियाँ समकक्षी वाङ यीको सम्मानमा सोमबार साँझ राजधानीमा रात्रिभोजको आयोजना गरे। त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै मन्त्री ज्ञवालीले सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत नेपाल र चीनबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताए।

विदेशमन्त्री वाङलाई काठमाडौंमा स्वागत गर्न पाउँदा नेपाल सरकार र नेपाली जनता अत्यन्त खुसी भएको उनले द्विदेशीय सम्बन्धले नयाँ उचाइ चुम्ने विश्वास व्यक्त गरे।

प्रत्युत्तरमा मन्त्री वाङले नेपालसँग चीनको विशिष्ट सम्बन्ध रहेको तथा बाल्यकालदेखि नै नेपालप्रति आफ्नो अनुराग रहेको बताए। मन्त्रिपरिषद्का सदस्य, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, चीनका लागि पूर्व नेपाली राजदूतलगायत रात्रिभोजमा सरिक थिए।