काठमाडौं- राजस्व चुहावट गरेको भन्दै बाँकेको नेपाल पान मसला उद्योगका कुतबुद्दिन शेषविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ।
विभागले नेपाल पान मसला उद्योग (स्थायी लेखा नं ६०४०६१३८४) ले राजश्व चुहावट गरेको भन्दै ७ करोड ५२ लाख विगो दाबी गर्दै उद्योगका प्रोप्राइटर शेषविरुद्ध प्रचलित कानुन बमोजिम बाँके जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
अन्तःशुल्क स्टिकर टाँस नगर्नुका साथै उद्योगले आर्थिक वर्ष २०७३/०७४, २०७४/०७५ र २०७५/०७६ को खरिद खाता, बिक्री खाता, उत्पादन खाता, अन्तःशुल्क स्टिकरको विवरण, बैंक स्टेटमेन्ट, विद्युत खपतको विवरण एवम् उद्योग विभागबाट कच्चा पदार्थ तथा प्याकेजिङ मटेरियलसमेतको लेखा विवरणमा लापरबाही गरेको विभागको भनाइ छ।
विभागले 'कच्चा पदार्थ तथा प्याकेजिङ मटेरियल खपत प्रयोग अनुपातको आधारमा छानबिन तथा अनुसन्धान गर्दा उद्योगले कच्चा पदार्थको हिसाबकिताब एवम् लेखा लापरबाही तथा त्रुटिपूर्ण तरिकाले राखी प्रचलित कानुनबमोजिम कच्चा पदार्थ एवम् प्याकेजिङ मटेरियलको खपत र सोबाट हुने उत्पादनको हिसाब उद्योग विभागबाट प्राप्त भएको नर्म्सअनुसार नराखी बढी गुट्खा उत्पादन गरी स्टिकर नलगाएर बिक्री वितरण गरेको देखिँदा उक्त कार्य 'राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२' को दफा ४ (क) र (ख) अनुसार राजस्व चुहावट मानिने कार्य गरेको देखिएको' उल्लेख गरेको छ।
विभागका अनुसार उद्योगले ३ आर्थिक वर्षमा क्रमशः आयकरतर्फ २८ लाख ६५ हजार ४ सय ६३ रुपैयाँ, २२ लाख ७१ हजार ५ सय ७० र ९ लाख १० हजार ९ सय २८ रुपैयाँ राजस्व चुहावट गरेको फेला पारेको हो।
यसैगरी मूल्य अभिवृद्धि करतर्फ ३ आर्थिक वर्षमा क्रमश ३५ लाख ३९ हजार, ४४ लाख १८ हजार र ८ लाख ९५ लाख रुपैयाँ उद्योगले राजस्व चुहावट गरेको आयोगको मुद्दामा उल्लेख गरिएको छ।
उद्योगले तीन वटै आर्थिक वर्षमा क्रमशः २ करोड १९ लाख २० हजार, २ करोड ८९ लाख ८२ हजार र ९३ लाख ९९ हजार रुपैयाँ छली गरेको आयोगले जनाएको छ।
सोमबार दायर गरिएको मुद्दामा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनको दफा २३ (१) अनुसार उद्योगका प्रोप्राइटर शेषसमेतलाई जरिवाना र कैद सजायको समेत मागदाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।