काठमाडौं- किरोन पोलार्ड वेस्ट इन्डिजको एकदिवसीय र टी-२० क्रिकेट टोलीको कप्तान बनेका छन्। एकदिवशीयमा जसोन होल्डर र टी-२० मा कार्लोस ब्राथओयटको स्थानमा पोलार्डलाई ल्याइएको हो।
३२ वर्यीय आक्रामक ब्याट्सम्यान पोलार्डलाई भारतविरुद्धको घरेलु शृंखलाका लागि टिममा बोलाइएको थियो। भारतविरुद्धको टी-२० खेलेका उनले सन् २०१६ बाट एकदिवशीय क्रिकेटमा वेस्ट इन्डिज टिमको जर्सीमा देखिएका छैनन्।
इंग्ल्यान्डमा भएको एकदीवशीय विश्वकपमा खेलेका ९ खेलमा वेस्ट इन्डिजले २ वटामा मात्र जित पारेपछि कप्तान होल्डरको आलोचना भएको थियो। भारतविरुद्ध पनि वेस्ट इन्डिजले टेस्ट र टी-२० का दुवै शृंखला हारेपछि होल्डर र ब्राथओयटको स्थानमा पोलार्डलाई कप्तानीको जिम्मेवारी दिइएको हो।
वेस्ट इन्डिजको क्रिकेट बोर्ड 'क्रिकेट वेस्टइन्डिज'का रिक्की स्केरिटले ट्रिनिडाडमा सोमबार पत्रकार सम्मेलन गर्दै कप्तानमा पोलार्डलाई चयन गरिएको बताए।
कप्तानमा चयन भएपछि पोलार्डले आफूमाथि विश्वास गरेकोमा क्रिकेट वेस्टइन्डिजलाई धन्यवाद दिए। उनले आफू जतिसक्दो छिट्टो कोचिङ स्टाफ र खेलाडीसँग काम गर्न आतुर रहको जनाउँदै आगामी विश्वकपका लागि टिमको तयारीमा लाग्ने बताए। उनले टिमको प्रदर्शनलाई लिएर वेस्ट इन्डिज क्रिकेटका प्रशंषकलाई जतिसक्दो चाँडै खुसी दिलाउन कोशिस गर्ने समेत प्रतिवद्धता जनाए।
उनले टिमको बरियतामा सुधार ल्याउने दिशामा समेत आफूले सोचिरहेको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।