काठमाडौं- कीर्गिस्तानमा भइरहेको नादेझ्दा कपमा नेपाली महिला टिमले मंगलबार समूह चरणको अन्तिम खेलमा ताजिकिस्तानसँग खेल्दैछ। मध्यान्ह पौने १२ बजे हुने खेलमा जित्न सके नेपाल फाइनलमा पुग्नेछ।
पहिलो खेलमा आयोजक कीर्गिस्तानलाई नै ८–२ ले हराएको नेपाल दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो। ताजकिस्तान र नेपालमा विजयी टिम फाइनलमा पुग्ने हुँदा अन्तिम खेल महत्वपूर्ण बनेको छ।
ताजकिस्तान पहिलो खेलमा उज्वेकिस्तानसँग १२–० ले हारेको थियो। ताजकिस्तानले कीर्गिस्तानलाई भने २–१ ले हराएको थियो।
सोमबार उज्वेकिस्तानसँग २–० ले हारेको खेलमा नेपालकी कप्तान निरु थापा घाइते भएकी थिइन्। यसैले ताजकिस्तानविरुद्धको खेलमा उनी खेल्ने नखेल्ने तय भएको छैन। नेपालले अभ्यासका लागि खेलिरहेको हुँदा यसअघि नखेलेका खेलाडीले पनि मौका पाउने सम्भावना रहन्छ।
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि कीर्गिस्तान गएको नेपाली टोलीले पाँच दिनमा नै चार खेल खेलिरहेको हो। नेपाल, कीर्गिस्तान, ताजिकिस्तान र उज्वेकिस्तान सहभागी प्रतियोगितामा शीर्ष दुई टिमले फाइनल खेल्नेछन्। बुधबार एक दिन मात्रै विश्रामपछि तेस्रो स्थानका लागि हुने खेलसँगै फाइनल खेल बिहीबार हुनेछ।
मंगलबार नै शीर्ष स्थानमा रहेको उज्वेकिस्तानले कीर्गिस्तानसँग खेल्दैछ। उज्वेकिस्तान एक खेलअघि नै फाइनलमा पुगिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।