काठमाडौं- नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले सत्तारुढ र विपक्षी पार्टीका नेतासँग द्विपक्षीय भेटवार्ता गरेका छन्।
आइतबार नेपाल आएका मन्त्री वाङले स्वदेश फर्किनुअघि मंगलबार बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग राजनीतिक भेटघाट गरेका छन्।
बिहानै भक्तपुर घुमेर फर्किएका वाङले ९ बजेदेखि करिब साढे ९ बजेसम्म प्रचण्डलाई भेटे भने त्यसपछि देउवालाई भेटेका थिए।
मन्त्री वाङसँगको भेटपछि नेकपा अध्यक्ष प्रचण्डले दुई देशबीच रहेको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने विषयमा छलफल भएको बताए।
‘नेपालको आर्थिक विकासको प्रयासमा चीनबाट र चिनियाँ जनताका तर्फबाट हुने सहयोग र हाम्रो अपेक्षाबारेमा कुराकानी भयो,’ भेटपछि संवाददाताहरुसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘दुवै देशका सकारले गर्ने सहकार्य र सहयोगलाको क्षेत्रलाई विस्तार गर्ने बारेमा पनि छलफल भयो।’
प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणबारे पनि छलफल भएको बताए। ‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको बिषयमा पनि हामीले चर्चा गर्यौं,’ उनले भने, ‘यी सबै विषयमा मन्त्रीज्यूको निक्कै नै उत्साहजनक विचार पायौं।’
नेपाल-चीन सम्बन्ध अझ समधुर भएर जाने विश्वास आफूले मन्त्री वाङसँग व्यक्त गरेको जानकारी दिँदै प्रचण्डले भने, ‘आर्थिक क्षेत्रमा सहयोग पनि मात्रात्मक मात्रै होइन, गुणात्मक रुममा बढ्नेछ। यसले नेपालको आर्थिक विकासको प्रयासमा मद्दत पुग्ने विश्वास मैले लिएँ।’
द्वारिकाज होटलेमा बसेका उनले प्रचण्ड र देउवालाई भने नक्सालस्थित होटल मेरिएटमा भेटेका हुन्।
उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी प्रदीप ज्ञवालीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। (तस्बिर- प्रचण्डको निजी सचिवालय र दीपेन्द्र श्रेष्ठ)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।