काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्ला केही वर्षमा नेपाल र भारत उच्च राजनीतिक तहमा अभूतपूर्व रुपमा नजिकएको बताएका छन्। बहुप्रतीक्षित अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर उद्घाटन गरेपछि मोदीले यस्तो बताएका हुन्।
ओली र मोदीले संयुक्त रुपमा आ-आफ्नै देशबाट स्विच दबाएर मोतिहारी-अमलेखगन्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको उद्घाटन गरेका हुन्।
मोदीले पछिल्लो डेढ वर्षमै नेपाली प्रधानमन्त्री ओलीसँग चार पटक भेटिसकेको समेत बताए। ‘पछिल्ला केही वर्षमा हामीबीच उच्च राजनीतिक तहमा अभूतपूर्व निकटता र नियमत सम्पर्क बढेको छ,’ भारतीय प्रधानमन्त्री कार्यालयको ट्विटर ह्यान्डलबाट गरिएको ट्विटमा भनिएको छ, ‘पछिल्लो डेढ वर्षमा मेरा मित्र प्रधानमन्त्री ओलीजी र मैले चार पटक भेटिसकेका छौं।’
भ्रमणका बेला पूरा भएका आयोजना चाँडै उद्घाटन गर्ने आफूहरुबीच सहमति भएको स्मरण गर्दै मोदीले आफूहरुको संयुक्त प्रयासले द्विपक्षीय आयोजनामा प्रगति भएकोमा खुसी व्यक्त गरेका छन्। मोदीले त्यसकै कारण आज आफूहरुले मोतिहारी-अमलेखगन्ज पाइपलाइनको उद्घाटन गरेको उल्लेख गरेका छन्।
निर्धारित समयमै दक्षिण एसियाको पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना भएको भन्दै उनले सन्तोषसमेत व्यक्त गरेका छन्।
‘यो धेरै सन्तोषको विषय हो कि दक्षिण एसियाको पहिलो अन्तरदेशीय पाइपलाइन निर्धारित समयमै पूरा भयो,’ मोदीको भनाइ छ, ‘जति अपेक्षा थियो त्यसको आधा समयमै यो तयार भयो। यसको श्रेय तपाईं (ओली) को नेतृत्वको, नेपाल सरकारको सहयोगको तथा हाम्रो संयुक्त प्रयासलाई जान्छ।’
नेपालको प्राथमिकता अनुसार विकासमा सहयोग गर्ने भारतीय प्रतिबद्धता आफूले फेरी दोहोर्याउन चाहेको मोदीले उल्लेख गरेका छन्।
भारतले सहयोग गरेको सबै क्षेत्रमा प्रगति भइरहेकोमा खुसी व्यक्त गर्दै मोदीले विभिन्न क्षेत्रमा सहकार्यलाई अझै बलियो बनाउने समेत बताएका छन्।
‘पछिल्लो पाँच वर्षमा हामीले महत्वपूर्ण द्विपक्षीय परियोजना पूरा गरेका छौं र अन्य कैंयौं पहलको चाँडै परिणाम प्राप्त हुनेछ,’ मोदीको भनाइ छ, ‘पछिल्लो वर्ष हामीले संयुक्त रुपमा पशुपतिनाथ धर्मशाला तथा वीरगञ्जमा संयुक्त जाँच चौकीको उद्घाटन गरेका थियौं।’
सन् २०१५ को भूकम्पपछि पुनर्निर्माणमा छिमेकी मित्रका रुपमा आफ्नो सहयोगको हात अघि बढाएको भन्दै मोदीले गोरखा र नुवाकोटमा आफूहरुको सहयोगबाट केही घर बनेकामा खुसीसमेत व्यक्त गरेका छन्।
‘मलाई धेरै खुसी लागेको छ कि नेपालको गोरखा र नुवाकोट जिल्लामा हाम्रो सहयोगबाट फेरि घर ठडिए,’ मोदीले खुसी व्यक्त गर्दै भनेका छन्, ‘सर्वसाधारण मानिस फेरि छानो भएको घरमा बस्न पाएका छन्।’
सम्बन्धित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।