काठमाडौं- विश्वकप फुटबल छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा नेपालले आज चाइनिज ताइपेइविरुद्ध खेल्दैछ। ताइपेइ एथ्लेटिक स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४ः५५ मा सुरु हुनेछ।
छनोटको पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित भएको नेपाल ताइपेइसँग सम्मानजनक नतिजाको खोजिमा छ। ताइपेइ पनि पहिलो खेलमा जोर्डनसँग २–१ ले पराजित भएको थियो।
फिफा वरियतामा नेपाल १६६ औँ स्थानमा छ भने चाइनिज ताइपेइ १२५ औँ स्थानमा छ। यसअघि नेपालले ताइपेइसँग खेलेको एकमात्र मैत्रीपूर्ण खेल बराबरीमा टुंगिएको थियो। गएको जेठमा भएको मैत्रीपूर्ण खेलमा नेपालका लागि अभिषेक रिजालले गोल गरेका थिए।
कुवेतसँगको लज्जास्पद हारपछि आफूहरु सम्हालिएर खेल्ने योजनामा रहेको नेपाली टिमका प्रशिक्षक योहान कालिनले बताएका छन्।
‘केही कारणले हामी कुवेतविरुद्ध कमजोर भयौँ, अब लयमा फर्किएर खेल्न आवश्यक छ। खुसीको कुरा मान्नुपर्छ हामीले गल्ती कहाँ गरेका थियौँ भन्ने थाहा छ’ सोमबार भएको पत्रकार सम्मेलनमा प्रशिक्षक कालिनले भनेका छन्, ‘हामीले आफ्नै शैलीमा खेल्नुपर्छ, कुवेतसँगको खेलमा गरेका गल्ती हामीले दोहो¥याउन हुँदैन।’
आफूहरुले चाइनिज ताइपेइविरुद्ध योजना बनाएको भए पनि खेल अघि केही बताउन नसकिने प्रशिक्षक कालिनले बताएका छन्। चाइनिज ताइपेइविरुद्धको खेलमा नेपालका प्रशिक्षक योहान कालिन खेलाडीभन्दा बढी दबाबमा छन्। नेपाली टिमको प्रशिक्षक बनेपछिका उनका पाँच खेलमा नेपाल जितविहीन छ।
चाइनिज ताइपेइका प्रशिक्षक लानकास्टरले पनि आफूहरु नेपालविरुद्ध बलियो बनेर खेल्ने बताएका छन्। कुनै पनि मौका खेल नफाली अगाडि बढेर खेल्ने योजनामा रहेको उनको भनाइ छ।
नेपाली टिमका कप्तान किरण चेमजोङले आफूहरु चाइनिज ताइपेइविरुद्ध खेल्न तयार रहेको बताएका छन्। आफूहरुले खेलमा राम्रो गर्न पूरा मेहनत गरेको र त्यसअनुसार नै खेल्ने उनको भनाइ छ।
फिफा वरीयताको एसियाली राष्ट्रमा शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको हो। जसमा अप्रिलमा भएको वरीयताअनुसार एसियाली राष्ट्रभित्र नेपाल ३४औं स्थानमा नै थियो।
दोस्रो चरणमा रहेका ८ समूह विजेताका साथै ४ उत्कृष्ट उपविजेता गरी १२ टिम विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन्। यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने भएकाले पनि प्रतियोगिताको महत्व बढेको छ।
यसपटक नेपाली टिमको नियमित कप्तान विराज महर्जन टिममा नपरेपछि नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गरिरहेका छन्। यसअघि मलेसियन लिग विजेता क्लब जोहार दारुल टाजिम एफसीसँग मैत्रीपूर्ण खेलमा किरण नरहेकाले नेपाली टोलीको कप्तानमा सुजल श्रेष्ठ रहेका थिए।
विश्वकप छनोटमा समूह ‘बी’ मा नेपालसहित अस्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइ रहेका छन्।
विश्वकप छनोटमा नेपालले असोज २८ गते जोर्डनसँग जोर्डनमा नै खेल्नेछ। मंसिर ३ गते कुवेतसँग दशरथ रंगशालामा, चैत १३ गते चाइनिज ताइपेइसँग दशरथ रंगशालामा खेल्नेछ। आउँदो वर्ष जेठ २२ गते दशरथ रंगशालामा जोर्डनसँग खेल्नेछ।
यस्तै नेपालले अस्ट्रेलियासँगको पहिलो खेल अस्ट्रेलियाको मैदानमा असोज २३ गते र अस्ट्रेलियासँग दशरथ रंगशालामा चैत १८ गते खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।