काठमाडौं- नेवार समुदायको विशेष पर्व इन्द्रजात्रा लिङ्गो ठड्याएर शुभारम्भ गरिएको छ।
बिहान ९:१७ बजेको साइत पारेर गुर्जु पल्टनले भक्तपुरबाट ल्याएको ३२ फिट अग्लो लिंगो ठड्याएर इन्द्रजात्राको शुभारम्भ गरिएको हो।
हनुमानढोका दरबार स्क्वायर क्षेत्रमा ठड्याएपछि विधिवत् रुपमा ८ दिने जात्रा सुरु भएको छ।
यो अवधिमा लाखेनाचहरु देखाउने परम्परा छ। कुमारी, गणेश र भैरवको रथ जात्रासँगै आठौँ दिन लिंगो ढालेपछि जात्रा समाप्त भएको मानिन्छ।
लिंगो ठड्याएपछि ८ दिनसम्म घरका बालकदेखि वृद्धसम्मले दिवंगत पितृको सम्झनामा शान्तिपाठ, स्तोत्रपाठ तथा पूजाआजा गर्ने प्रचलन छ।
इन्द्रजात्राको मुख्य दिन यही भदौ २७ गते दिउँसो ४ बजे श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा शुरु हुन्छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गरी दान दक्षिणापछि रथयात्रा शुरु गर्न अनुरोध गर्ने परम्परा छ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा धुलिखेल र दोलखालगायतका स्थानमा पनि मनाइन्छ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको इन्द्रजात्रामा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरिन्छ।
जात्रा अवधिभर भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रुपमा पुलुकिसी नाच नचाउने चलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।