बिपीलाई दरबारले नबुझ्नु नै दुर्भाग्य

कीर्तिनिधि विष्ट | २०७६ भदौ २४ मंगलबार | Tuesday, September 10, 2019 १६:०८:०० मा प्रकाशित

२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि बिपीसित मेरो हिमचिम बढ्यो। जनमत संग्रहपछि त हाम्रो सम्बन्ध राजनीतिमा मात्र सीमित रहेन, पारिवारिक बन्न पुग्यो। 

बिपी अक्सर मकहाँ आइरहन्थे। उनी आएपछि घरको माहोलै बेग्लै हुन्थ्यो। हामी राजनीतिक छलफल गथ्र्यौ, पारिवारिक कुरा हुन्थे। एकदिन बिपीले मसँग जिज्ञासा राखे, महेन्द्रले ‘कू’ गर्नुको कारण के थियो?

महेन्द्रकै कार्यकालमा २०२६ सालमा प्रधानमन्त्री भएकाले उनलाई लागेको हुनसक्छ, राजाले मलाई धेरै कुरा बताएका छन्। तर, २०१७  सालमा म भर्खर राजनीतिमा संघर्ष गरिरहेको थिएँ। 

मैले जवाफ दिएँ, ‘मलाई के सोध्नुहुन्छ। तपाईकै प्रिय मान्छे विश्वबन्धु र तुलसीलाई सोध्नू न।’

त्यसपछि उनले कहिल्यै यो कुरा उप्काएनन्। जनमत संग्रहताकै बिपीले मलाई प्रस्ताव राखे, ‘तपाई पनि राष्ट्रवादी सोचको मान्छे। किन हामी एकै ठाउँ मिलेर काम नगर्ने?’
मैले बिपीलाई आफू लामो समयदेखि पञ्चायतमा सक्रिय रहेको सम्झाउँदै भनेँ, ‘तपाईको कुरा ठिक हो। तर, म अहिले राजासँग छु। अहिले छाडेँ भने घात हुँदैन? धोका दिएजस्तो हुँदैन?’

बिपीले फेरि दोहोर्याएर त्यो कुरा झिकेनन्। 

त्यही समयतिर स्याङ्जामा बिपीलाई झन्डै मारेको। त्यतिबेला बहुदल र निर्दलबीच ठूलो कटुता थियो। जसले पायो, त्यसले सिध्याउने। म पनि पञ्चायततिरबाट सक्रिय थिएँ। गोरखामा भाषण गर्न गएको कांग्रेस समर्थकले झन्डै मारे। रातभरि पुलिस एस्कर्टिङमा बस्नुपर्यो। दमौलीमा त्यस्तै। 

बिपीले यो खबर पाएछन्। 

उनले आफ्ना कार्यकर्तालाई बोलाएर हकारे, ‘के गरेको त्यस्तो? कीर्तिनिधिजीको विरोध किन गरेको? उनी पञ्चायतमा छन् भन्दैमा आफ्नो विचार राख्न नपाउने?’

सच्चा प्रजातन्त्रवादी हुन् बिपी, जो सबैको विचारलाई उत्तिकै कदर गर्थे। 

OOO

बिपी सानो कुरा पनि हेक्का राख्थे। जनतामा जान भनेपछि भित्रैदेखि रमाउँथे। प्रजातन्त्र र प्रजातान्त्रिक चरित्रमा चट्टानजस्तै अडिग। कसैप्रति उनको रोष थिएन। न कसैप्रति दुर्भावै राख्थे। प्रजातान्त्रिक आस्थामा विश्वास गर्ने र राष्ट्रवादीलाई एकजुट बनाएर लानुपर्छ भन्ने उनको सोच थियो। जीवनमा दरबारबाट प्रत्याडित भए। तर, उनले आवेशमा आएर राजसंस्थाको कहिल्यै विरोध गरेनन्। मान्छे खराब हुन सक्ला तर संस्था खराब हुँदैन भन्ने उनको मान्यता थियो। यहाँसम्म कि, महेन्द्रले उनीमाथि त्यत्रो अन्याय गरे, तैपनि महेन्द्रप्रति कहिल्यै तुष राखेनन्। 

एउटा महान नेतामा हुनुपर्ने गुण यही हो, व्यक्तिलाई भन्दा राज्यलाई प्राथमिकता दिने। 

अहिले सम्झन्छु, आखिर किन महेन्द्रले आफूले त्यतिविधि मानेको नेतालाई पदच्युत गरे? मैले देख्दा, महेन्द्र पनि बिपीप्रति कुनै पूर्वाग्रह राख्थेनन्। बिपीको कुरा हुँदा उनको भावै अर्को हुन्थ्यो। भन्थे, ‘पिएम(प्रधानमन्त्री) हुनलायक मान्छे त बिपी नै हो।’

महेन्द्रलाई पछिल्लो समय बिपीलाई राष्ट्रिय राजनीतिमा जोड्न नसकेकोमा ठूलो पछुतो थियो। एकदिन उनले हामीलाई (त्यतिबेला म प्रधानमन्त्री थिएँ) बोलाए। र, संविधानका केही धारा फेरबदल गरेर बिपीलाई राष्ट्रिय राजनीतिमा फर्काउने मनसाय व्यक्त गरे। त्यसको सात दिनमै महेन्द्रको निधन भयो। आफैंले ‘कू’ गरेर पत्ताच्युत गरेका प्रधानमन्त्रीलाई आफैँले राष्ट्रिय राजनीतिमा समावेश गराउने उनको ध्येय इतिहासको गर्भमा त्यसै हरायो। 

OOO

बिपी २०३३ सालमा ‘राजाको घाँटी मसँग जोडिएको छ’ भन्दै फर्किएका हुन्। तर, उनको मेलमिलापको नीतिभित्र लुकेको मनसाय दरबारले बुझन सकेन। त्यसैको परिणम हो, अहिले देशमा राजसंस्था छैन। 

बिपीले त्यत्रो खतरा मोलेर देश फर्किएपछि त्यसभित्र के अर्थ लुकेको छ भन्ने दरबारले बुझ्न सक्नुपथ्र्यो। तर, खराब सल्लाहकारका पछाडि लागेर फेरि बिपीलाई राष्ट्रिय राजनीतिबाट अलग राख्ने काम भयो। 

बीरेन्द्रको सबभन्दा ठूलो भुल यही हो। उनले बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर देश फर्किनेबित्तिकै बुवा(महेन्द्र) ले मर्नुभन्दा अगाडि गर्न खोजेको काम पुरा गर्नुपथ्र्यो। 

OOO

जनमत संग्रहताका बिपी दिनहुँजसो मेरो घर आउँथे। एकपल्ट नास्ता खाइरहँदा मसँग सोधे, ‘कीर्तिनिधिजी, जनमत संग्रहमा हामीहरु जित्छौं हैन?’

मैले फ्याट्ट जवाफ दिएँ, ‘जित्नुहुन्न। तपाईहरुको संगठन कमजोर छ। फेरि अलिकति चलखेल त भइहाल्छ।’

बिपी हाँसे।

‘तपाईले गल्ती भन्नुभयो। चुनाव त हामी नै जित्छौं,’ कोठामा संगै बसेका मेरा छोराछोरीतिर देखाउँदै भने, ‘सोध्नुस् तपाईका छोराछोरीलाई, उनीहरु पनि हामीलाई नै भोट हाल्छन्।’

एकचोटि मृगेन्द्रशमशेरका छोराले खाना खाने निम्तो दिएका थिए। बिपीसँगै किसुनजी र गणेशमान पनि आएका थिए। मैले त्यहाँ पनि भनेँ, ‘कांग्रेसले जित्दैन।’

त्यतिबेला गणेशमानलगायत सबैले मेरो मजाक उडाए। आखिर चुनावमा त्यही भयो।

गणेशमानले विरोध गर्नुपर्छ भने। तर, बिपीको तर्क थियो, ‘हामीले जनमतको अपमान गर्नुहुन्न।’

बिपीलाई थाहा थियो, चुनावमा धाँधली भएको छ। तर, उनी प्रजातान्त्रिक अभ्यास सुरु हुन लागेकोमा खुसी थिए। 

OOO

बिपी मलाई खुब आदर गर्थे। मलाई भने उनको व्यवहारले लज्जित बनाउँथ्यो। भन्थे, ‘बिपीबाबु, तपाई मैले मानेको नेता। मेरो अग्रज पनि। त्यसैले, मलाई धेरै माथि चढाएर सम्मान नगुर्नस्।’

बिपीले मलाई धेरै आदर गरेको अरुलाई पनि मन परेको रहेनछ। एकदिन घरमा सबै भएको बेला गणेशमानजीले कुरा झिके, ‘के हो बिष्टजी, तपाईले त हाम्रो नेतालाई मोहनी लाउनुभएजस्तो छ नि! तर, बिष्टजी, म यो मान्दिनँ। तपाईहरुले कति दुःख दिनुभयो हामीलाई।’

म बिपीलाई जोगी भन्थेँ। इमानदार नेता। राज्यले पनि उनलाई चिन्न सकेन। प्रधानमन्त्री भइसकेको मान्छेलाई राज्यले एउटा सुविधा पनि दिएन। ‘उनीसँग मोटर थिएन। एकपल्ट प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम थियो। त्यहाँ राजा बीरेन्द्र र म थियौं। बिपीलाई पनि निम्तो गरिएको रहेछ। 

फर्किने बेला सबै गाडीमा गइहाले। बिपी त्यतिबेला चाबहिलमा भाइ तारिणीसँग बस्थे। उनले मनजिक आएर भने, ‘कीर्तिनिधिजी, म तपाईको मोटरमा जान्छु।’
मैले श्रीमतिलाई पछाडि बसाएर बिपीलाई अगाडि सिटमा राखेर घर छोडिदिएँ। पछि पुरै हल्लाखल्ला भएछ। कुरा दरबारसम्म पुगेछ, ‘कीर्तिनिधि त बिपीसँग मिल्यो। एउटै गाडीमा हिँड्छ।’

OOO

यो २०१५ सालको कुरा हो। बिपी प्रधानमन्त्री थिए। म कांग्रेसको विरोधी पार्टीका रुप्मा डिल्लीरमण रेग्मीले स्थापना गरेको नेपाली राष्ट्रिय कांग्रेसमा आवद्ध थिएँ। हामी २ पैसामा बिक्री हुने पत्रिका निकाल्दै कांग्रेसको विरोध गथ्र्यौ। राष्ट्रिय कांग्रेस पनि प्रजातन्त्रमै आस्था राख्ने पार्टी हो। तर, केही कुरामा कांग्रेससँग हाम्रो ‘रिजर्भेसन’ थियो। हामी आफूलाई मन नपरेको कांग्रेसको नीतिबारे पत्रिकामा छाप्थ्यौं। 

एकदिन विशालनगरतिर हिँड्दै थिएँ। बिपीले देखेछन्। उनले झ्याप्प गाडी रोक्न लगाए। सोधे, ‘कीर्तिनिधिजी, कता जान लागेको?’

त्यतिबेला प्रायः मानिसहरुको जक्सन न्युरोड हुन्थ्यो। मैले पनि त्यहीँ जान लागेको बताएँ। बिपीले मलाई आफ्नो गाडीमा हालेर न्युरोड गेटभन्दा अगाडिको महांकाल मन्दिरतिर छोडिदिए। 

म बिपीप्रति अनुग्रहित भएँ। त्यतिबेला राष्ट्रिय कांग्रेसको जग त्यति बलियो थिएन। त्यही पनि बिपीले २०१५ सालमा निर्वाचनमा सँगै मिलेर लड्न आग्रह गरेका थिए। बिपीलाई सुरुमा आफ्नो त्यति धेरै मत आउँछ भन्ने लागेको थिएन। 

२०३९ सालतिर उपचारका लागि विदेश लैजानुअघि म बिपीलाई भेट्न चाबहिल पुगेको थिएँ। 

पावरवाल चस्माबाट पुलुक्क मतिर हेर्दै उनले भने, ‘को, कीर्तिनिधिजी? म आउँछु भन्दै थिएँ।’

त्यसपछि न उनी मेरो घर आए। न उनीसँग मेरो भेट भयो। 

[नवीन अर्यालसँग कुराकानीमा आधारित। बिष्टको २०७४ कात्तिक २५ गते निधन भएको थियो। पहिलोपटक नेपाल लाइभमा २०७५ भदौ २४ गते प्रकाशित]