काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट पारित गरेको छ।
प्राधिकरणको ३ सय ६२औं बोर्ड बैठकबाट नेपाल नागरिक उड्डयन क्षेत्रको सम्रग विकासका लागि ४६ अर्ब ९० करोड ५० लाख रुपैयाँ बराबरको बजेट पारित गरेको हो।
भदौ १९ गते बसेको प्राधिकरणको बोर्ड बैठकले प्राधिकरणले पेस गरेको बजेट पारित गरेको प्राधिकरण स्रोतले जानकारी दिएको छ।
प्राधिकरणले देशभर सञ्चालनमा रहेका विमानस्थलको स्तरोन्नतिदेखि हवाई उड्डयन क्षेत्रमा नयाँ प्रविधिको प्रयोगलाई समेत प्रमुख प्राथमिकतामा राखेर बजेट पारित गरेको छ।
प्राधिकरण बोर्ड बैठकबाट पारित भएको कुल बजेटको झन्डै ५० प्रतिशत रकम नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवको आयोजनामा विनियोजन भएको स्रोतको दाबी छ।
प्राधिकरणले नेपाल सरकारबाट पाएको बजेटसँगै आफ्नो आयस्रोतबाट इतिहासकै सबैभन्दा ठूलो बजेट विनियोजन गरेको समेत स्रोतको भनाइ छ।
विमानस्थलहरूमा पनि सबैभन्दा बढी रकम निर्माणको अन्तिम चरणमा रहेको गौतक बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरामा निर्माण भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थ र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि विनियोजन गरेको प्राधिकरण स्रोतको भनाइ छ।
सरकारले पनि चालु आवभित्रै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको आवश्यक तयारीका लागि झन्डै ४ अर्ब रुपैयाँ विनियोजन गरेको थियो। उक्त रकममा थप हुने गरी प्राधिरकरणले समेत गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रमुख प्राथमिकतामा राखेर थप रकम विनियोजन गरेको स्रोतको भनाइ छ।
प्राधिकरणले निजगढ विमानस्थल निर्माणस्थलको टागियाँ बस्ती स्थान्तरण तथा व्यवस्थापनका लागि पनि रकम विनियोजन गरेको उनको भनाइ छ।
प्राधिकरणले पोखरामा निर्माण भइरहेको भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि तोकेको समयमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित बजेट विनियोजन गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।