काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले सोलुखुम्बु लुक्लासहित दुर्गमका ५ विमानस्थल सौर्य ऊर्जाबाट सञ्चालन गर्ने तयारी गरेको छ।
जापान सहयोग नियोग (जाइका)को सहयोगमा लुक्लासहित हुम्ला सिमिकोट, रारा, जुम्ला र जोमसोम विमानस्थल सौर्य ऊर्जाबाट सञ्चालन हुने गरी सोलार प्रविधिक जडान गरिएको प्राधिकरणका इन्जिनियर सन्जीव कठायतले जानकारी दिए।
‘प्राधिकरणले जाइकाको अनुदानमा सोलार प्यानललगायतका सञ्चार उपकरण सञ्चालन गर्न आवश्यक प्रविधि जडानको काम सकेको छ,' उनले भने, ‘अबको केही दिनै सौर्य उर्जाबाट यी विमानस्थल सञ्चालन हुन्छ।’
प्राधिकरणले जाइकाको एक अर्ब ४० करोड रुपैयाँको अनुदानमा ५ विमानस्थलमा सौर्य ऊर्जाबाट सञ्चार उपकरणसहित विमानस्थल सञ्चालन गर्ने उनको भनाई छ।
साथै लुक्ला विमानस्थलमा भने सौर्य उर्जाबाटै रन–वे लाइटिङको काम समेत हुने उनको भनाइ छ। साथै यसैरकमबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वेमा लोकललाइजर डिएमई जडानको काम हुने उनको भनाइ छ।
‘यी विमानस्थलमा पावर सप्लाइको समस्यासमेत थियो। अब सौर्य ऊर्जाको प्रयोगसँगै पावर सप्लाइको समस्या समेत अन्त्य हुन्छ,’ उनले भने।
यसअघि पनि जाइकाले नेपालको हवाई उड्डयन क्षेत्रको विकासका लागि भट्टेडाँडामा राडार राख्न सहयोग गरेको थियो। राडार जडानमा पनि जाइकाले १ अर्ब रुपैयाँ सहयोग गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।