काठमाडौं- तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी मंगलबार अपरान्हतिर स्वेदश फर्किएका छन्।
नेपाल भ्रमणमा उनी द्विपक्षीय औपचारिक तथा राजनीतिक भेटघाटमा व्यस्त रहे।
सोमबार बिहानैदेखि सुरु भएको उनको भेटघाटको व्यस्तता मंगलबार बिहानसम्मै जारी रह्यो। औपचारिक भेटघाटको पहिलो दिन सामेबार उनले तीन वटा महत्वपूर्ण द्विपक्षीय भेटघाट गरे।
सुरुमै उनले नेपाली समकक्षी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग याक एन्ड यति होटेलमा द्विपक्षीय बैठक गरे।
परराष्ट्रमन्त्री ज्ञवालीसँग मन्त्रीस्तरीय संयन्त्रको बैठक सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न मन्त्री यी सरकारी निवास बालुवाटार पुगे। त्यसपछि शीतलनिवासमा गएर राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेट गरे।
तीन राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँगको भेटमा नेपाल पक्षले दिएको एउटै सन्देश छ- नेपाल चिनियाँ राष्ट्रपति सी जिन पिङलाई स्वागत गर्न तयार छ।
परराष्ट्रमन्त्री ज्ञवालीले यीसँग द्विपक्षीय विभिन्न एजेन्डाका अलवा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे पनि छलफल गरे। छलफलका क्रममा आफुले नेपाल राष्ट्रपति सीलाई स्वागत गर्न आतुर रहेको भन्ने सन्देश दिएको बताएका छन्।
चिनियाँ विदेशमन्त्री वाङसँगको द्विपक्षीय बैठकपछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पनि यसबारे उल्लेख छ।
विज्ञप्तिमा उच्च तहको भ्रमण गराउने विषयमा दुवै नेताले छलफल गरेको उल्लेख छ जसको अर्थ राष्ट्रपति सीलाई नेपाल स्वागत गर्ने भन्ने नै हो।
प्रधानमन्त्री ओलीसँगको भेटमा पनि चिनियाँ राष्ट्रपति सीको भ्रमणले स्थान पायो। वाङसँगको भेटपछि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुनेमा विश्वास व्यक्त गरेका छन्।
उनका परराष्ट्र मामिला सल्लाहकार डा भट्टराई पनि चीनबाट उच्चस्तरीय भ्रमण विश्वास व्यक्त गर्छन्। ‘विदेशमन्त्री वाङले उपयुक्त समयमा चीनबाट उच्चस्तरीय भ्रमण हुने र त्यसका लागि आवश्यक तयारी भइरहेको प्रधानमन्त्रीसँगको भेटमा बताउनुभयो,’ भट्टराई भन्छन्।
राष्ट्रपति विद्या भण्डारीसँगको शिष्टाचार भेटमा पनि यो विषयले प्रवेश पायो। शीतलनिवास स्रोतका अनुसार आफूलाई भेट्न आएका वाङलाई चिनियाँ राष्ट्रपति सीको भ्रमण सम्बन्धमा दुई वटा कुरा राखेकी थिइन्।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री र परराष्ट्र मन्त्रीजस्तै वाङलाई नेपाल चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न तयार रहेको सन्देश दिइन्। सँगै उनले सी नेपाल आउने/नआउनेबारे पनि जिज्ञासा राखिन्। प्रतिउत्तरमा वाङले यसपाली राष्ट्रपति सी नेपाल आउने भन्दै राष्ट्रपति भण्डारीलाई विश्वास दिलाउने प्रयास गरेका बताइएको छ।
सरकार सम्बद्ध नेताहरुसँगको भेटपछि वाङले राजनीतिक दलका नेताहरूसँग पनि भेटघाट गरे।
मंगलबार बिहान उनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटे।
नक्सालस्थित होटल मेरिएटमा भएको भेटमा प्रचण्ड र देउवाले पनि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको विषय उप्काएका थिए।
‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको विषयमा पनि हामीले चर्चा गर्यौं,’ वाङसँगको भेटपछि उनले संवाददाताहरुसँग भने, ‘यी सबै विषयमा मन्त्रीज्यूको निक्कै नै उत्साहजनक विचार पायौं।’
प्रचण्डजस्तै देउवाले पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बारेमा चासो राखेका थिए। देउवाले राष्ट्रपति सीलाई स्वागत गर्न नेपाल आतुर रहेको मन्त्री वाङलाई बताए।
सी नेपाल आउँछन् या आउँदैनन् भन्ने मुलतः अब बेइजिङ गएर वाङले गर्ने ‘ब्रिफिङ’मा निर्भर रहन्छ।
सरकार र बाहिर रहेका सबै नेताहरूबाट सीलाई स्वागत गर्न जनाएको उत्सुकताबाट स्वदेश फर्किएका वाङले राष्ट्रपति सीसमक्ष सकरात्मक नै ब्रिफिङ गर्ने विश्वास गरिएको छ।
नेपाली पक्षको निरन्तरको चाहाना र चिनियाँ पक्षको आफ्नै आवश्यकताले पनि सी नेपाल आउने नेपाली पक्षको विश्वास छ।
सी आउने समय
ओली नेतृत्वमा सरकार बनेयता नेपाल भ्रमणमा आउने मन्त्री यी चीनका वरिष्ठ अधिकारी हुन्।
उनको यो भ्रमणलाई लामो समयदेखि चिनियाँ राष्ट्र प्रमुखबाट हुन नसकेको भ्रमणको अवस्थालाई तोडी चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीका रुपमा बुझिएको छ।
चीनबाट सन् २०१२ यता कुनै पनि राष्ट्र र सरकारप्रमुखले नेपाल भ्रमण गरेका छैनन्। सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री बेनजिया बाओ केही घन्टाका लागि काठमाडौं आएका थिए।
२३ वर्षयता कुनै पनि चिनियाँ राष्ट्रपतिबाट नेपालमा भ्रमण हुन सकेको छैन। सन् १९९६ मा राष्ट्रपति जियाङ जमिनले नेपाल भ्रमण गरेका थिए।
आफ्नो पहिलो कार्याकालमै दक्षिण एसियाका अधिकांश देश भ्रमण गरिसकेका चिनियाँ राष्ट्रपति सी जिनफिङ नेपाल भने आएका छैनन्। चिनियाँ राष्ट्रपतिलाई नेपालमा स्वागतका लागि पटक-पटक निमन्त्रणा गरिएको छ।
पछिल्लो पटक गत १५ असारमा ६ दिने चीन भ्रमणमा गएका परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी यीसँगको भेटमा पनि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे चर्चा गरेका थिए।
१८ असारमा दुई मन्त्रीहरुबीच भएको भेटमा उपयुक्त समयमा चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने विषयमा सहमति भएको थियो।
यसपटक अक्टोबर मध्यतिर सी नेपाल आउने ठानिएको छ। चिनियाँ राष्ट्रपति सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जाँदैछन्।
सन् २०१८ मा दुई नेताले चीनको उहानमा दुई दिने अनौपचारिक भेटघाट गरेका थिए, जुन उहान शिखर सम्मेलनका नाममा चर्चित छ। उहान शिखर सम्मेलनको दोस्रो संस्करणका रुपमा सी र मोदी यसपाला भारतमा बैठक बस्न लागेका हुन्।
यसअघि भारतको वाराणसीमा उक्त सम्मेलन आयोजना गर्ने भनिए पनि सुरक्षा चुनौतीका कारण उक्त स्थान रद्द गरिएको छ। अब उक्त सम्मेलन सम्भवतः तमिलनाडूको महावलीपुरम सहरमा आयोजना गरिनेछ।
सी भारतको दुई दिने भ्रमण सकेर स्वदेश फर्किने बेला अक्टोबर १५ मा नेपाल उत्रिने ठानिएको छ।
कुनै अप्रत्यासित घटनाका कारण चीन र भारतबीचको सम्बन्ध बिग्रन गई मोदी र सीबीचको अनौपचारिक सम्मेलन रोकिए सीको नेपाल भ्रमणको विषय तत्कालका लागि थाती रहने बुझिएको छ।
सिंगापुर पुगेका भारतीय विदेशमन्त्री एस जयशंकरले चीनको व्यापार नीतिलाई लिएर गरेको कडा आलोचनाले चीन-भारतबीचको सम्बन्ध कुनै पनि बेला बिग्रन सक्ने आँकलन गर्ने विश्लेषक पनि थुप्रै छन्।
सिंगापुरस्थित ‘प्यानल डिस्कसन’मा भाग लिँदै जयशंकरले खुला व्यापार सम्झौताको सहजीकरण चीनले नगरेको भन्दै चीनको कडा आलोचना गरेका थिए।
कथम् कदाचित् मोदी-सी उहान सम्मेलन रोकिए सी नेपाल आउने सम्भावना भने जीवितै रहन्छ।
लगभग त्यही समयमा राष्ट्रपति सी तिब्बतमा प्रजातान्त्रिक सुधारको ६० वर्ष पुगेको अवसरमा केरुङ आउँदै छन्।
सन् १९५९ मा चिनियाँ सरकारले राजतन्त्रको अवशेषका रूपमा रहेका कैयौं स्थानीय निरुकुंश सरकारलाई खारेज गर्दै प्रजातान्त्रिक सुधारको थालनी गरेको थियो।
उहान सम्मेलन रद्द भएपनि केरुङ आएका बेला सी काठमाडौं उत्रने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।