काठमाडौं- एनसेल लाभकर विवादका विषयमा सर्वोच्च अदालतले गरेको फैसला अध्ययन गर्ने नेपाल बार एशोसिएसनले समिति गठन गरेको छ।
बारको केन्द्रीय समिति बैठकले फैसला अध्ययनका लागि समिति गठन गर्ने निर्णय गरेको हो।
सोमबार गरिएको उक्त निर्णय अनुसार फैसला अध्ययनका लागि वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको नेतृत्वमा समिति बन्नेछ।
समिति सदस्यमा रविनारायण खनाल, गोपालकृष्ण घिमिरे, चन्द्रकान्त ज्ञवाली र बारका कोषाध्यक्ष रुद्र पोखरेल छन्।
समितिले अध्ययन गरी प्रतिवेदनमा बारमा पेस गर्नेछ।
एनसेल लाभकरलाई लिएर पछिल्ला दुई वर्षमा सर्वोच्चले पटकपटक गरेका आदेश, परामादेश, फैसलाहरु समितिले अध्ययन गर्नेछ।
२०७४ पुस ३ देखि २०७६ भदौ ९ गतेसम्मका आदेश र फैसलाहरु अध्ययन गर्ने भएको हो।
गत साता सर्वोच्चले उक्त विषयमा फैसला गर्दै एनसेलले जानकारी पाएको मितिदेखि मात्रै जरिवाना तिर्न भनेको थियो।
फैसलाको संघीय संसदमा समेत विरोध भइरहेको छ। संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले समेत फैसलाको अध्ययन गर्ने निर्णय यसअघि नै गरिसकेको छ।
गत शुक्रबार बसेको समितिको बैठकले विवादित उक्त विषयमा गरिएका विभिन्न फैसला अध्ययन गर्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।