काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीबाट पीडित भई आन्दोलनरत भेण्डर तथा सप्लायर्स कम्पनीहरुलाई वार्तामा आउन प्राविधिक समितिले अपिल गरेको छ।
बाँकी भुक्तानीको मागदाबी र सो को पुष्टि हुने गरी बिलबिजक तथा सम्झौताको कागजात पेस गर्न समेत समितिको आव्हान छ।
सिएमसी कम्पनीबाट बाँकी रकम भुक्तानीको दाबी गरेका भेण्डर तथा स्थानीय सप्लायर्सहरुको मागका सम्बन्धमा गठन भएको प्राविधिक समितिले आयोजनाका लागि सामानहरु आपूर्ति गर्ने सप्लायर्सहरुसँग आवश्यक कागजात माग गरेको हो।
समितिले सूचना जारी गरी आयोजना निर्माण क्षेत्रमा विरोध र आन्दोलन लगायतका कार्यक्रम स्थगित गरी वार्तामा आउन समेत अनुरोध गरेको हो।
प्राविधिक समितिले सामानहरु आपूर्ति गर्ने सप्लायर्स कम्पनीहरुलाई वार्तामा आउन आग्रह गर्दै राष्ट्रिय गौरवको आयोजना निर्माणमा सहयोग पुर्याउन समेत अपिल गरेको छ।
यसअघि खानेपानी मन्त्रालयका खानेपानी तथा वातावरण महाशाखा प्रमुखको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक समिति गठन भएको थियो। पीडितलाई भुक्तानीका सम्बन्धमा समितिले आवश्यक काम कारबाही अघि बढाइसकेको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।