धनगढी- मुस्लिम धर्मावलम्बीहरुको पर्व मोहरम्म ताजिय मंगलबार विर्सजन भएको छ।
कैलालीको जानकी गाउँपालिका-५ मा रहेको बालविद्या मन्दिर आधारभूत विद्यालयमा ताजिय मेला लागेको थियो। मेला कुलरीया नदीको किनारमा विर्सजन गरिएको हो।
मुस्लिम धर्मावलम्बीहरुले मोहरम्म पर्व मुस्लिम समुदायका अगुवा हजरत इमाम हुसेनका आहुति दिएको सम्झनामा बत्र बसी तथा दिनभर खाली खुट्टामा उभिएर, मनाउने चलन समेत रहेको मुस्लिम समुदायका अगुवाहरुको भनाई रहेको छ।
ताजिय मोहरम्म पर्व ७औं दिनमा घरको आगनमा निशाना गाडने, ९औं दिनमा ताजिय चौतारो तथा आगनमा राख्ने र १०औं दिनमा कर्बलामा लिएर सेलाउने परम्परा रही आएको स्थानीय अगुवा सब्बीर अली जागाले बताए।
पर्वमा मुस्लीम समुदायका युवाहरुले ढोल, तासा, झाज बजाउने र लठ्ठी खेल खेल्ने समेत गर्दछन भने रोटीको टुक्रा बनाई, घिउ, चिनी हाली बनाईएको परिकार (मलीदा) र भातमा रंग र चिनी हाली बनाएको परिकार (जर्दा) खाने चलन छ।
यस पर्वमा सम्पुर्ण जातजातिका मानिस आई ताजियमा आफनो मनमा लागेको कुरा माग्ने समेत गरेको बताइएको छ।
खासगरी मुस्लिम समुदायले मनाइरहेको ताजिया मेलामा हिन्दूहरु समेत आकर्षित बन्दै गइरहेको पाइन्छ। हिन्दूहरुले समेत मेलामा सहभागी भई मेलामा मनोरन्जन गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।