उपनिर्वाचनका लागि मतदाता नामावलीसम्बन्धी दाबी/विरोध असोज १ देखि

नेपाल लाइभ | २०७६ भदौ २५ बुधबार | Wednesday, September 11, 2019 ०७:१४:०० मा प्रकाशित

काठमाडौं- आगामी मङ्सिर १४ मा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका गरी विभिन्न ५१ पदका लागि हुने उपनिर्वाचनका लागि सङ्कलन गरिएको नामावलीसम्बन्धी दाबीविरोधका कार्यक्रम असोज १ गतेदेखि हुने भएको छ।

निर्वाचन आयोगका अनुसार मतदाता नामावली तयार गर्ने सिलसिलामा उपनिर्वाचन हुने ३७ जिल्लाका १ सय ५४ वडा कार्यालयमा रहने सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाता नामावली अद्यावधिक कार्यक्रम हुनेछ।

निर्वाचन सञ्चालन हुने सम्बन्धित वडाका मतदातालाई आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गरी मतदाता नामावलीमा रहेका त्रुटि सच्याउने, उजुरी दिने, दोहोरो नाम हटाउने, मृत्यु भएका, नागरिकता रद्द/त्याग गरेका मतदाताको नाम हटाई शुद्ध मतदाता नामावली तयार गर्ने कार्यमा सहयोग गर्न आयोगले सबैमा अनुरोध गरेको छ।

देशभर ३७ जिल्लाका १ सय ५४ वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावली विवरण तयार गरी आद्यावधिक कार्यक्रम (दाबी/विरोध) प्रयोजनका लागि सम्बन्धित जिल्लामा पठाई सकिएकोे आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिए। नाम दर्ता बिहान १० देखि ५ बजेसम्म रहने र बिदाको दिनमा पनि सञ्चालन हुनेछ।

मतदाता नामावली प्रकाशन असोज १ गते, २ गते नाम सच्याउने, ७ गते सच्याएको नाम छानबिन गरी अभिलेखमा अद्यावधिक गर्ने, ८ गते सच्याएको नाम सूचना पार्टीमा टाँस्ने र नामावली प्रकाशित गर्ने तथा १० गते अद्यावधिक गरिएको अन्तिम नाम जिल्ला निर्वाचन कार्यालयमा बुझाउने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ। रासस