राजविराज- सप्तरीमा १० देखि २० वर्ष उमेरका किशोरकिशोरीले आत्महत्या गर्ने दर बढेको छ।
विगत तीन वर्षमा ३७ किशोरकिशोरीले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा ७ किशोर र ७ किशोरी गरी १४ जना, आव २०७४/०७५ मा ८ किशोर र ८ किशोरी गरी १६ जना र गत आव २०७५/०७६ मा २ किशोर र ५ किशोरी गरी ७ जना किशोरकिशोरीले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
यसैगरी, सप्तरीमा तीन वर्षभित्र २ सय ८८ जनाले आत्महत्या गरेका प्रहरीको तथ्यांकमा उल्लेख छ। आत्महत्या गर्नेमध्ये महिलाको संख्या १ सय २१ र पुरुषको संख्या १ सय ७ छ। आव २०७३/०७४ मा २६ पुरुष र ३३ महिला गरी ५९, आव २०७४/०७५ मा ३६ पुरुष र ४९ महिला गरी ८५ र आव २०७५/०७६ मा ४५ पुरुष र ३९ महिला गरी ८४ जनाले आत्महत्या गरेका छन्।
चालु आर्थिक वर्षको श्रावणदेखि हालसम्म ७ जनाले आत्महत्या गरिसकेका छन्। सप्तरीमा सरदर ४ दिनमा एक जनाले आत्महत्या गर्ने गरेको पाइएको छ।
सप्तरीमा झुण्डिएर, विष सेवन, आगो लगाएर र पानीमा हाम फालेर आत्महत्या गर्ने प्रवृत्ति रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाईंले बताए।
तराईमा देखिएका अधिकांश आत्महत्या पारिवारिक कलह, लागुऔषधको प्रयोग तथा मानसिक समस्याका कारण हुने गरेको बताएका उनले घरेलु हिंसा, आफन्तको मृत्यु, गरिवी, बेरोजगारी, मायामा धोका, पढाइमा असफलता लगायतका कारण पनि यसमा कारक रहेको जनाए।
नेपाल प्रहरीको तथ्यांक अनुसार २०७४/७५ मा देशभर ५ हजार ३ सय ४६ जनाले आत्महत्या गरेका छन्। देशभरमा प्रत्येक दिन १४ जनाले आत्महत्या गर्ने गरेको पाइएको छ।
कार्ययोजना बनाउने प्रतिवद्धता
जिल्ला प्रहरी कार्यालय सप्तरीले आत्महत्याका घटना न्यूनीकरण गर्न कार्ययोजना बनाउने प्रतिवद्धता जनाएको छ।
विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा एसपी प्रसाईंले यस्तो प्रतिवद्धता जनाएका हुन्।
कार्यक्रममा उपस्थित सहभागीले सप्तरीमा आत्महत्याका घटना बढेका र आत्महत्याको आवरणमा हत्या गर्ने प्रवृत्ति पनि मौलाएको भन्दै प्रहरीले त्यस्ता घटनामा कुनै कारबाही गर्न नसकेको आरोप लगाएपछि एसपी प्रसाईंले कार्ययोजना बनाएरै प्रहरीले काम गर्ने स्पष्ट पारेका थिए।
‘हामी वस्तुस्थिति बुझ्दैछौं। म सप्तरी आएको ७ दिनभित्रमा विभिन्न १७ ठाउँमा पुगिसकें,’ उनले भने, ‘पीडितको गुनासो र अवस्था मूल्यांकनपछि योजना बनाएरै प्रहरीले काम गर्छ,’ उनको भनाइ छ। एसपी प्रसाईंले आपराधिक घटना नियन्त्रण तथा लागुऔषधको ओसारपसार र प्रयोगलाई नियन्त्रण गर्न स्थानीय तहसम्म समन्वय गर्ने प्रयास पनि भइरहेको बताए।
८० प्रतिशत आपराधिक घटनामा लागुऔषध कारक बन्ने गरेको बताएका उनले लागुऔषध नियन्त्रण गर्न सके अपराध आफैं घट्ने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।