काठमाडौं- कुनैबेला कर्मचारीको प्रमुख आकर्षणको केन्द्र रहेका भन्सार कार्यालयहरुमा अहिले उनै कर्मचारीहरुको अरुची बढ्न थालेको छ। सरुवाको 'सिजन' सुरु भएसँगै भन्सारमा कार्यरत कर्मचारीहरुले त्यहाँबाट हट्न 'लबिङ' थालेका छन्।
अझ एकसमय कर्मचारीले सबैभन्दा आकर्षक मान्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट त समय नै नपुगी कर्मचारीहरुले सरुवा माग्न थालेका छन्। सामान्यतया उपसचिवसम्मका कर्मचारीको सरुवा दुई वर्षमा एकचोटी हुने भए पनि उनीहरुले दुई वर्ष नपुग्दै सरुवा माग्ने प्रवृत्ति बढेको हो।
कर्मचारीहरुकै परिभाषामा अहिले विमानस्थल भन्सार कार्यालय 'तातो तावा' जस्तै भएको छ। 'कतिबेला के हुन्छ भन्न सकिँदैन, अपराधका नयाँ-नयाँ शैली आइरहेका छन्, तर हाम्रो संयन्त्रसँग न प्रविधि छ न त त्यो जान्ने क्षमता,' विमानस्थल भन्सार कार्यालयका एक कर्मचारी भन्छन्, 'सधैँ झगडा गरेर कति जागिर खाने, त्यो भन्दा त सरुवा लिएर अन्यत्र जान पाए सहज हुन्थ्यो।'
नेपालमा गैरकानुनी बाटोबाट सुन आयात बढ्न थालेपछि त्यसले भन्सारमाथि नै जोखिम बढाएको उनीहरुको विश्लेषण छ। 'कुनै कमजोरी भयो भने पहिले भन्सारलाई दोष लगाइन्छ,' ती कर्मचारीले भने, 'त्यहाँ रहेका धेरैवटा निकायसँग समन्वय गरेर काम गर्न साँच्चै गाह्रो छ।'
विमानस्थल भन्सार कार्यालयमा कर्मचारीहरु तीन सिफ्टमा काम गर्छन्। सरकारले ल्याउने नयाँ-नयाँ नियम यात्रुहरुले नबुझ्ने र त्यसैकारण उनीहरुले झगडा गर्ने प्रवृत्ति पनि बढेको छ। 'हामीले ड्युटी-फ्रीको रक्सी एक बोतलभन्दा धेरै ल्याउन पाइँदैन भन्यौँ, यहाँ त सांसदहरु नै ५ बोतल रक्सी बोकेर आउँछन् र कर्मचारालाई तेरो टाउकोमा फुटाइदिउँ भन्छन्,' भन्सारका ती कर्मचारीले भने, 'यात्रुले झगडा नगरेको त दिननै हुँदैन।'
भन्सारमा किन बस्न चाँहदैनन् कर्मचारी?
सरकारले अर्थ मन्त्रालयसहित १७ वटा निकायमा कार्यरत कर्मचारीका लागि प्रोत्साहन भत्ताको पनि व्यवस्था गरेको छ। त्यो सुविधा भन्सारमा कार्यरत कर्मचारीले पनि पाउँछन्। तर, अहिले भन्सारका कर्मचारीलाई भने त्यसले आकर्षित गरेको छैन।
'हामीले त्यति जोखिमपूर्ण काम गरे पनि उही सुविधा पाउने र कोष तथा लेखा नियन्त्रकको कार्यालयमा बिहान १० देखि ५ बजेसम्म काम गर्नेले पनि उही सुविधा पाउने भएपछि प्रोत्साहनको के अर्थ भयो र?,' भन्सारका कर्मचारी प्रश्न गर्छन्।
अर्थ मन्त्रालयले असोज दोस्रो सातासम्ममा उपसचिवको सरुवा गरिसक्ने तयारी गरेको छ। तर, विमानस्थल भन्सारमा कार्यरत तथा अन्य भन्सार कार्यालयमा कार्यरत उपसचिवहरु त्यहाँ जान चाहिरहेका छैनन्। अन्तर्राष्ट्रिय विमानस्थल भन्सार र वीरगञ्ज भन्सारमा सहसचिवको नेतृत्वमा संयन्त्र बनाइएको छ भने अन्य भन्सारको नेतृत्व उपसचिवले गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।