प्युठान- श्रीमतीले दिएको बहुविवाहको उजुरीले प्युठानको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीलाई प्रहरी हिरासत पुर्याएको छ।
बहुविवाह गरेको भन्दै परस्त्रीसँग खिचिएका अर्धनग्न तस्बिरसहित उजुरी परेपछि प्रहरीले अध्यक्ष गिरी र उनकी प्रेमिका दुवैलाई हिरासतमा लिएको हो। गिरीकी पत्नीले बहुविवाहको मुद्दा दर्ता गरेपछि आइतबार साँझ आफैं जिल्ला प्रहरी कार्यालय प्युठान पुगेका गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको प्रहरी नायव उपरीक्षक नरेन्द्रबहादुर कार्कीले बताए।
‘हिरासतमा राखेर दुवैमाथि अनुसन्धान भइरहेको छ,' उनले भने।
यसअघि गत भदौ १० गते गौमुखी गाउँपालिका ४ बस्ने पत्नी सीता केसीले गिरीविरुद्ध हुलाकमार्फत बहुविवाहको मुद्दा प्रहरीमा दर्ता गरेकी थिइन। उनले दोस्रो विवाह गरेको प्रमाणको आधारमा मुद्दा दायर गरेको दाबी गरेकी छन्।
डिएसपी कार्कीका अनुसार अध्यक्ष गिरीले आफूले दोस्रो विवाह नगरेको प्रहरी समक्ष स्पष्टीकरण दिएका छन्।
नेपाली कांग्रेस प्युठानका युवा नेतासमेत रहेका गिरीले श्रीमतीसँग १० वर्षदेखि छुट्टै बस्दै आएको बताएका छन्। आफूमाथि लागेको बहुविवाहको आरोप सत्य नभएको र यसको अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने पनि बताएका छन्।
‘बिहे गरेको भए त सबैलाई थाहा दिएर गर्थें नि,' उनले भने, 'बिहे पनि लुकाउने कुरा हो र?’
यसअघि सम्बन्ध विच्छेदको मुद्दा आफूले हारेको प्रतिक्रिया दिँदै गिरीले सम्पत्तिको विषयमा मुद्दा चलिरहेको पनि बताएका छन्।
पत्नी केसी दुई छोरीसँगै बिजुवारमा कोठाभाडामा बस्दै आएकी छन्।
बहुविवाह प्रमाणित भए गिरीले १ वर्षदेखि ५ वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।