काठमाडौं- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पेरुले ब्राजिललाई पराजित गरेको छ। गएको जुलाईमा कोपा अमेरिकाको फाइनलमा ब्राजिलसँग ३-१ ले हारेको पेरुले अहिले १-० ले हराएको हो।
पेरुको जितमा खेलको ८५ औँ मिनेटमा लुइस अब्रामले गोल गरे। प्रतिस्पर्धात्मक खेलमा ६३ औँ मिनेटमा रोबर्टो फर्मिनोको स्थानमा नेमार मैदान प्रवेश गरेका थिए।
यस्तै भिनिसियस जुनियर रिचार्लिसनको स्थानमा ७४ औँ मिनेटमा मैदान छिरे। सुरुवातदेखिका केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा ब्राजिल स्तब्ध बनेको हो।
१२ औँ मिनेटमा नै जामब्रानोको हेडर बारबाट थोरै माथिबाट बाहिरिएको थियो। ५४ औँ मिनेटमा कोटिन्हो गोलनजिक पुगेर चुकेका थिए।
७५ औँ मिनेटमा डिबक्सभित्र लडेका नेमारले फोउलको अपिल गरेपनि पेनाल्टी पाएनन्।
ब्राजिलले मैत्रीपूर्ण खेलमा नै गएको शनिबार कोलम्बियासँग २-२ को बराबरी खेलेको थियो। त्यसमा नेमार र क्यासेमिरोले गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।