काठमाडौं- २०२० को युरो कपका लागि भइरहेको छनोट खेलमा लिथुवानियाविरुद्ध ४ गोल गर्दै पोर्चुगलका क्रिष्टियानो रोनाल्डो आफ्नो कीर्तिमानको सूची थपेका छन्। लिथुवानियालाई ५–१ ले हराएको खेलमा रोनाल्डोले ४ गोल गरेका हुन्।
लिथुवानियाविरुद्धको ह्याट्रिक उनको ५४ औँ फुटबल ह्याट्रिक हो। उनले स्पेनिस क्लब रियल मड्रिडका लागि ४४, पोर्चुगलका लागि ८ साथै युभेन्टस र म्यानचेस्टर युनाइटेडका लागि १/१ ह्याट्रिक गरेका छन्।
लिथुवानियाविरुद्ध गोल गरेसँगै ३४ वर्षका रोनाल्डो भिन्न ४० देशविरुद्ध गोल गर्ने खेलाडी पनि बनेका छन्।
अहिले इटालियन क्लब युभेन्टसमा रहेका रोनाल्डो युरोपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन्। यसैगरी २५ गोल गरेका उनी युरोपियन च्याम्पियनसिप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन्।
रोनाल्डोले पोर्चुगलका लागि १६० खेलमा ९३ गोल गरेका छन्। जुन अन्तर्राष्ट्रिय गोलको कीर्तिमानमो दोस्रो नम्बरमा रहेको छ। उनी अघि इरानका अलि डाइले १०९ गोल गरेका छन्।
लिथुवानियाविरुद्ध खेलको सातौँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए। २८ औँ मिनेटमा एन्ड्युकेभिसियसको गोलमा बराबरी गरेको लिथुवानिया दोस्रो हाफमा कमजोर बनेको थियो। रोनाल्डोले ६१ औँ र ६५ औँ मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरे। साथै उनले चौथो गोल ७६ औँ मिनेटमा गरे। पोर्चुगलका लागि इन्जुरी समयमा विलियम कार्भाल्होले एक गोल थपे।
खेलपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डोले लिथुवानियाविरुद्ध हानेको चार गोलले नै उनी विश्वकै उत्कृष्ट फुटबलर भएको प्रमाणित गर्ने बताएका छन्। ‘विश्वमा त्यस्तो कुनै मैदान छैन जहाँ रोनाल्डोका लागि खुसीले तालि नबजाइने होस्, उनी विश्वका उत्कृष्ट खेलाडी हुन्’ सान्तोषले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।