नेमारविरुद्ध बलात्कारको मुद्दा हाल्नेलाई झुट बोलेकोमा कारबाही!

नेपाल लाइभ | २०७६ भदौ २५ बुधबार | Wednesday, September 11, 2019 १५:००:०० मा प्रकाशित

काठमाडौं- ब्राजिलियन स्टार फुटबलर नेमारले बलात्कार गरेको भन्दै मुद्दा हाल्ने मोडल नाजिला ट्रिनडेडले प्रहरीसँग झुट बोलेको भन्दै उनीविरुद्ध कारबाहीको तयारी थालिएको छ।

साओ पाउलो प्रहरीका अनुसार उनीविरुद्ध धोखाधडी, बेइज्जती र जबरजस्ती रकम असुल्न खोजेको आरोपमा कारबाहीको तयारी थालिएको हो। 

नेमारमाथि लागेको बलात्कारको आरोपमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीले यसअघि नै अनुसन्धान बन्द गरिसकेका थिए। पर्याप्त प्रमाण अभाव भएको भन्दै उनीमाथिको आरोप अपुष्ट भएको थियो। अदालतले पनि प्रमाण नपुगेको भन्दै नेमारविरुद्धको मुद्दा खारेज गरेको थियो।

ब्राजिलियन मोडल नाजिला ट्रिनडेडले गएको मे महिनामा नेमारले फ्रान्स पेरिसको एक होटलमा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्। जसमा नेमारले आफूले त्यस्तो काम नगरेको र फसाउन खोजेको बताउँदै आएका थिए। 

आफूमाथि नेमारले बलात्कार गरेको भन्दै ट्रिनडेडले गएको मे महिनामा नै साओ पाउलो प्रहरीमा उजुरी दिएकी थिइन्। उनको उजुरीपछि इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गर्दै आफूमाथिको आरोप झुटो भएको नेमारले बताएका थिए। 

प्रहरीको पछिल्लो निर्णयबारे नेमारको धारणा बाहिरिएको छैन। पछिल्लो समय नेमारमाथिको बलात्कार आरोपले ब्राजिलसँगै पूरा विश्व फुटबल जगतमा खबरहरु फैलिरहेका थिए। ब्राजिलमा त हरेक दिन पत्रिकाको प्रमुख हेडलाइनमा नेमारका विषय समावेश थिए। 

नेमारमाथि आरोप लगाउने मोडल ट्रिनडेडका पूर्वप्रेमी एस्टिभेन्स अल्भेसविरुद्ध पनि धोखाधडी गरेको आरोपमा प्रहरीले कारबाही अगाडि बढाएको छ। ट्रिनडेडका वकिलले भने प्रहरीको यस्तो कदमले आफूहरु चकित बनेको बताएका छन्। ट्रिनडेडले नेमारविरुद्ध बताएका कुरा पैसाका लागि नभएको उनको भनाइ छ।